मेडिकल व्यवसायीलाई धम्की दिँदै २० लाखभन्दा बढी माग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
यो घटना नेपालगञ्जको हो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का करिब ६० बर्षीय उदयबहादुर सिंह श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार श्रेष्ठले एक जना नेपालगञ्जका मेडिकल व्यवसायीलाई फोन गरेर धम्की दिएका थिए।
पक्राउ परेका श्रेष्ठ पत्रकार पनि हुन्। उनले समाचार लेख्ने भन्दै धम्की दिएर २० लाखभन्दा बढी रकम मागेको आरोप छ। उनी निष्पक्ष ध्वनी राष्ट्रिय दैनिक सञ्चालन गर्थे। हाल उक्त पत्रिका बन्द छ।
मेडिकल व्यवसायीले यसबारे जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरी आएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिएसपी पातलीका अनुसार श्रेष्ठले फेसबुक र टिकटकमा व्यक्तिगत लाञ्छना लगाउँदै सामाग्रीहरु राख्दै बार्गेनिङ गर्दै आएका थिए।
उनले व्यक्ति र व्यवसायीलाई लक्ष्य गर्दै सामाजिक सञ्जालहरूमा सामग्री सार्वजनिक गर्ने र बार्गेनिङको माध्यम बनाउँदै आएको प्रहरीको भनाइ छ।