काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका २४ जनाविरूद्ध थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले २४ जनाविरूद्ध अनुसन्धान गर्न थप ७ दिनको म्याद पाएको बताए।
दुर्गा प्रसाईंसहितले आन्दोलनलाई भड्काएर हिंसात्मक बनाएको भन्दै राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान थालेको हो। यस कसुरमा २४ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
अन्य बाँकीलाई प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रसाईं र मिश्रले आफूहरूलाई हाजिर जमानीमा राख्नुपर्ने माग राख्दै अदालतमा निवेदन हालेका छन्। उक्त निवेदन परेपछि यसअघिको इजलासले बयान र प्रमाण जुटाउनुपर्ने काम सकेको भए हाजिर जमानीमा राख्न सकिने उल्लेख गरेको थियो।
आइतबार इजलासमा दुवैले आफ्नो धारणा व्यक्त गरेका थिए।
मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राजु बस्नेत, विष्णु भट्टराई र गोविन्द बन्दीले बहस गरे। बहस क्रममा उनीहरूले मिश्रलाई हाजिर जमानी/साधारण तारेखमा रिहा गर्नुपर्ने माग राखेका हुन्।
त्यसबीच मिश्रले आजको इजलासमा पनि आफ्ना धारणा राखेका हुन्।
उनले आज आमाको मुख हेर्ने दिन भएकाले पनि छाडिपाउँ भनेर अनुरोध गरेका थिए। उनले आफूले कुनै गलत काम नगरेको बताएका हुन्।
'आमाको कसम खाएर भन्न चाहन्छु मैले कुनै गलत काम गरेको छैन। आज आमाको मुख हेर्ने दिन पनि हो। मुख हेर्न पाऊँ,' उनको भनाइ उद्धृत गर्दै वरिष्ठ अधिवक्ता बस्नेतले भने, 'त्यस दिन मैले कुनै कसुर गरेको छैन।'
स्टेजमै अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको, तर हिंसा भड्काउनमा संलग्न नरहेको उनले बताएका थिए।
'स्टेजमा अश्रुग्यास प्रहार भयो। नवराज सुवेदी त्यहीँ हुनुहुन्थ्यो। उहाँको रेस्क्यु गरेँ। त्यहीँ अश्रुग्यास प्रहार भएपछि आवेगमा आएँ। तितिरबितर भएको थियो भीड,' थप उद्धृत गर्दै बस्नेतले भने, 'त्यसपछि आउनुस्, आउनुस् भनेको हुँ। अरू मैले शिर निहुरिने कुनै पनि काम गरेको छैन। तोडफोड, आगजनीमा संलग्न छैन।'
आइतबार इजलासमा दुर्गा प्रसाईंले पनि धारणा राखेको उनका तर्फबाट वकालत गरेका वरिष्ठ अधिवक्ता टंक दुलालले जानकारी दिए। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि बहस गरेका थिए।
'म विचारका लागि त्यहाँ पुगेको हुँ। त्यहाँ पुग्नु अगाडि नै घटना भइसकेको थियो,' प्रसाईंको भनाइ उद्धृत गर्दै वरिष्ठ अधिवक्ता दुलालले भने।
प्रसाईंले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी गराएका थिए।
'क्यान्सरको बिरामी हो। त्यसैले उपचारका लागि थुना बाहिर बसेर उपचार गर्न पाउनुपर्ने अधिकार दिएको छ,' उनले भने, 'जीवन रक्षाका लागि थुना बाहिर हाजिर जमानीमा बस्न पनि पाउनुपर्छ भनेर हामीले भन्यौं। उहाँले पनि त्यही आशयमा कुरा गर्नुभयो।'
यसअघि जिल्ला अदालतले मिश्र र प्रसाईं लगायतलाई थप हिरासतमा राख्न माग गर्न आउँदा के-कस्ता प्रमाण संकलन गर्न बाँकी छ त्यसबारे खुलाउन अथवा हाजिर जमानीमा वा साधारण तारेखमा राख्न सकिने उल्लेख गरेको थियो।
'यस स्थिति अवस्थामा अब म्याद थपको लागि माग गर्दा बयान लिन बाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्ने र बयान सम्पन्न भएका र बयान सम्पन्न भएका र बयान लिन बाँकी रहेका प्रतिवादीको बयान कार्य सम्पन्न पश्चात प्रतिवादीहरूको प्रहरी प्रतिवेदन अनुसारको कसुरमा संलगनता देखिने के कुन प्रमाण संकलन गर्न बाँकी रहेको हो सोको स्पष्ट विवरण सहित थप म्याद थपको माग गर्ने गरी हाललाई म्याद थपको लागि उपस्थित गराइएका प्रतिवादीहरूलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न तीन दिनको म्याद थप प्रदान गरिएको छ,' वैशाख १० गते अदालतमा उपस्थित गराउँदा न्यायाधीश ध्रुवराज कार्कीले दिएको आदेशमा उल्लेख छ।
यो आदेशपछि सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित अदालतमा उपस्थित भएका थिए।
सरकारी वकिलले दुर्गा प्रसाईंको हकमा संकलन गर्नुपर्ने प्रमाणका विवरण खुलाएको मिश्रका वकिल वरिष्ठ अधिवक्ता बस्नेतले बताए।
'उहाँहरूले दुर्गा प्रसाईंको हकमा खुलाउन बाँकी प्रमाणबारे उल्लेख गर्नुभयो। प्रसाईंको ज्यानमार्ने उद्योग, आगजनी, लगायत कसुरमा अनुसन्धान भइरहेको छ। क्षतिको विवरण संकलन गर्नुपर्ने काम भइरहेको छ। मोबाइल फरेन्सिक ल्याबमा पठाएको रिपोर्ट आएको छैन। यी काम बाँकी रहेकाले म्याद थप्नुपर्छ भनेर माग भयो,' बस्नेतले भने, 'तर मिश्रको हकमा उहाँहरूले खुलाउन सक्नुभएन।'