संखुवासभामा एक वृद्धको हत्या भएको छ।
खाँदबारी नगरपालिका-९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भएको हो।
शनिबार साढे ११ बजे कुमाल सुतिरहेकै ठाउँमा घाँटी थिचेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षितकुमार बस्नेतले जानकारी दिए।
'सुतिरहेकै ठाउँमा दुई जना अपरिचित व्यक्तिले घाँटी थिचेर हत्या गरेका हुन्,' डिएसपी बस्नेतले भने, 'ती व्यक्तिलाई प्रहरीले खोजिरहेको छ।'
उनका अनुसार कुमाल दम्पती सुतिरहेका थिए। एक्कासी श्रीमानमाथि आक्रमण गर्दा उनले होहल्ला गरिन्। तर छिमेकी घटनास्थलमा पुग्नु अघि नै ती युवकहरू भागेको मृतकको श्रीमतीले प्रहरीलाई बताएकी छन्।
घरमा उनीहरू दुईजना मात्र बस्ने गरेका थिए। आर्थिक अवस्था सामान्य भएको परिवार भएकाले लुटपाटकै लागि आएको जस्तो पनि देखिदैन। त्यसैले यस घटनामा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।
आइतबार कुमालको शव पोस्टमर्टम गरेर प्रहरीले परिवारलाई बुझाइसकेको छ।