क्यानडामा उत्सव मनाइरहेका मानिसहरूको भिडमा एक युवकले कार हुइँकाउँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।
यो घटना क्यानडामा स्थानीय समयअनुसार शनिबार राति ८ बजेको हो।
क्यानडाको भ्यानकुभरमा 'लापु लापु डे' सडक उत्सव मनाइरहेका भिडमाथि एक युवकले कार हुइँकाएका थिए।
घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको भ्यानकुभर प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ।
प्रहरीले पनि अहिलेसम्म कति घाइते भएको र तीमध्ये कति जनाको अवस्था गम्भीर छ भनेर सार्वजनिक गरिसकेको छैन।
बिबिसीका अनुसार प्रहरी अझै अनुसन्धानमै छ।
घटनामा संलग्न कार चालक ३० वर्षीय युवक त्यतिबेलै पक्राउ परेका थिए। ती कार चालक भ्यानकुभरकै रहेको बताइएको छ।
प्रहरीले उनको विषय र पृष्ठभूमिबारे खुलाइसकेको छैन। सुरूमा प्रहरीले यसलाई आतंकवादी हमलाका रूपमा अनुसन्धान गरेको थियो। उक्त घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने बारे प्रहरीले अनुसन्धान गरेको थियो।
यद्यपि घटनामा ती एक जना युवकको मात्रै संलग्नता देखिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
घटनाका एक प्रत्यक्षदर्शीका अनुसार ती युवकले जानाजान कार रफ्तारमा चलाएर भिडतिर हुलेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि युवकले जानाजान भिडमाथि कार हुइँकाएको खुलेको छ।
हामी उत्सवको रमाइलोमा थियौं। अचानक तीव्र गतिको कार भिडमा पस्यो र ठक्कर दिँदै अघि बढ्न थाल्यो। त्यसपछि सबैतिर भागदौड मच्चियो,' उत्सवमा सहभागी एक जनाले भने।
भिडमा कुदाइएको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ।