काठमाडौंमा आइतबार दिउँसो शिक्षक र प्रहरीबीच झडप भएको छ।
शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा पनि हानेको थियो।
सो क्रममा बानेश्वर नजिकै आन्दोलन तथा झडपको रिपोर्टिङ गरिरहेकी एक जना पत्रकार घाइते भएकी छन्।
प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सबिना कार्की घाइते भएकी हुन्। प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको छ।
प्राइम टाइम टेलिभिजनका प्रमुख ऋषि धमलाले रिपोर्टिङका क्रममा संवाददाता कार्की घाइते भएको र उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानमा लगिएको सेतोपाटीलाई बताए।
प्रहरी र शिक्षकहरू झडप हुँदा केही शिक्षकहरू पनि घाइते छन्। घाइते शिक्षकहरूलाई ट्रमा सेन्टर र एभरेष्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा छन्।