ललितपुरको सुधार केन्द्रमा रहेका एक पुरूषको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-४ बाडेगाउँस्थित विश्वास नेपाल रिह्याब सेन्टरमा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका आरूबारी घर भएका ४८ वर्षीय दावा घिसिङको मृत्यु भएको हो। मध्यपान दुर्व्यसनी उनलाई तीन दिन अघि मात्रै त्यहाँ लगिएको थियो।
शनिबार राति साढे १० बजेतिर उनको मुखबाट फिज निस्किएपछि उपचारका लागि भनेर उक्त रिह्याबका सञ्चालकसहित तीन जनाले बाडेगाउँस्थित नमस्ते अस्पतालमा पुर्याएका थिए।
उपचारको क्रममा चिकित्सकले राति ११ बजेतिर मृत घोषणा गरेको एसपी रेग्मीले बताए। उनका अनुसार मृतक घिसिङलाई यसअघि सात महिना अघि पनि त्यही रिह्याबमा लगिएको थियो।
प्रहरीले यसको अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाबारे तीन जनासँग बुझ्ने काम गरिरहेको एसपी रेग्मीले बताए।
सञ्चालक गोदावरी नगरपालिका-१२ ठेचोका ४५ वर्षीय सुजन महर्जन, कर्मचारी महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने ३४ वर्षीय भास्कर बुढाथोकी र मध्यपुर ठिमि नगरपालिका-३ कौसलटारका ४५ अनुज नेपालसँग बुझिरहेको उनले बताए।
शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।