काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईं लगायतलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराउँदैछ।
आइतबार मिश्र, प्रसाईं लगायतलाई अदालतमा उपस्थित गराएर म्याद थप गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
राज्यविरूद्धको कसुरमा पक्राउ परेका २४ जनाविरूद्ध वैशाख १० गते थप म्याद माग्न अदालतमा उपस्थित गराइएको थियो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा उनीहरूलाई उपस्थित गराइएको थियो। प्रहरी र सरकारी वकिलले १७ गतेदेखि म्याद थप भइरहेको यो घटनामा चोथो पटक थप २० दिन हिरासतमा राख्न माग गरेको थियो।
प्रहरीले जाहेरी लिने क्रम जारी नै रहेको र क्षतिको विवरण पनि संकलन गर्न बाँकी रहेको भन्दै थप म्याद माग गरेको थियो। त्यस्तै मिश्रलाई किन थप म्याद माग भएको हो भन्ने विषयमा पनि अदालतले प्रश्न उठाएको थियो।
‘प्रतिवादी रवीन्द्र मिश्रको उक्त कसुरमा संलग्न पुष्टि गर्ने के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकोले थप म्याद माग गर्नुपरेको हो भन्ने कुरा म्याद थपको पत्रमा निश्चयात्मक रूपमा उल्लेख गर्न सकेको देखिँदैन,’ आदेशमा भनिएको छ।
प्रहरी र सरकारी वकिलको कार्यालयले रवीन्द्र मिश्रको बयान लिइसकेको छ। तर दुर्गा प्रसाईंको बयान लिन बाँकी नै छ। रवीन्द्र मिश्र र दुर्गा प्रसाईंले स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा राखी पाउँ भन्दै निवेदन दिएका थिए।
अब रवीन्द्रमाथि म्याद माग गर्नुपरेमा के कुन प्रमाण लिन बाँकी छ भन्ने खुलाउन पनि इजलासले आदेश दिएको थियो।
‘यस स्थिति अवस्थामा अब म्याद थपको लागि माग गर्दा बयान लिन बाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्ने र बयान सम्पन्न भएका र बयान सम्पन्न भएका र बयान लिन बाँकी रहेका प्रतिवादीको बयान कार्य सम्पन्न पश्चात प्रतिवादीहरूको प्रहरी प्रतिवेदन अनुसारको कसुरमा संलगनता देखिने के कुन प्रमाण संकलन गर्न बाँकी रहेको हो सोको स्पष्ट विवरण सहित थप म्याद थपको माग गर्ने गरी हाललाई म्याद थपको लागि उपस्थित गराइएका प्रतिवादीहरूलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न तीन दिनको म्याद थप प्रदान गरिएको छ,’ आदेशमा उल्लेख छ।
इजलासले मिश्र र प्रसाईंको आवश्यक स्वास्थ्य र चिकित्सकको सिफारिसअनुसार स्वास्थ्य उपचार प्रबन्ध गराउन भनेको थियो।
उनीहरूको थप प्रमाण संकलन गर्ने कार्य बाँकी नरहेको अवस्थामा हाजिर जमानीमा छाड्न वा तारेखमा राख्न सक्नेबारे अदालतले अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकिललाई जानकारी गराउन भनेको हो।
यसबारे परिसरका प्रवक्ता एवं एसपी बोहराले अदालतको आदेशबमोजिम नै अनुसन्धान अधिकारीले प्रक्रिया अघि बढाउने बताए।
‘अदालतको आदेशले के भनेको छ, त्यसबारे अनुसन्धान अधिकृतले आवश्यकताअनुसारको काम गर्छ,’ एसपी बोहराले भने।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा चैत १५ गते प्रदर्शन भएको थियो।
प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले पानीका फोहरा र अश्रुग्यास हानेको थियो भने प्रदर्शनकारीहरूले निजी घर, जडिबुटी प्रशोधन केन्द्र, सरकारी गाडी र पार्टी कार्यालयमा आगजनी गरेका थिए।
तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।