हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ।
आगामी चौबीस घन्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।