ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।
उक्त भिडिओ हालैको नभएको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार उक्त घटना एक वर्षभन्दा पुरानो रहेको खुलेको हो।
सहायक हवल्दार पदका ट्राफिक प्रहरीले एक युवकलाई लखेटेर कुटपिट गरेको भिडिओ शुक्रबार बाहिरिएको थियो।भिडिओ भाइरल बनेपछि ट्राफिक कार्यालयले यसबारे खोजी गरेको थियो।
तर त्यसमा देखिएका ट्राफिक प्रहरी नै धेरै अगाडि सरूवा भइसकेको खुलेको एसएसपी घिमिरेले बताए।
‘भिडिओमा देखिएका ट्राफिक प्रहरी अहिले कार्यालयमा छैनन्। भिडिओ एक वर्षभन्दा पुरानो हो। ती ट्राफिक नै १३/१४ महिना अगाडि यहाँबाट हिँडिसकेका छन्,’ उनले भने।
यसअघि बिहीबार पनि एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सुन्धाराअगाडि ट्राफिक प्रहरीले कुटेको भिडिओ भाइरल बनेपछि कार्यालयले चार जनालाई प्रहरी वृत्त जनसेवाबाट हटाएर छानबिन सुरू गरेको छ।
उक्त घटना गत मंसिर २३ गते भएको थियो।