धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ।
विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो। तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीया आकृती साह र दुई वर्षीया छोरी आरूती साहको घटनास्थलमै मृत्यु भएको थियो। यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन्।
विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो। गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो। शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए।
पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ। हाल घटनाको अनुसन्धान भइरहको छ।