'डेन्टल अलाइनर' भन्नाले नमिलेको दाँत मिलाउने एउटा प्रविधि भनेर बुझ्नुपर्छ। जस्तो कसैको दाँत खप्टिएको हुन्छ, कसैको छिद्रा परेको हुन्छ। यस्ता दाँतलाई मिलाउने नयाँ प्रविधिलाई डेन्टल अलाइनर भनिन्छ।
कुनै कुनै अवस्थामा उछिट्टिएको दाँतलाई भित्र लैजानुपर्ने हुन्छ, तलको माथिको दाँतलाई मिलाउन पर्ने अवस्था हुन्छ। एउटा माथि अर्को खप्टिएको दाँतलाई सिधा बनाउनुपर्ने हुन्छ। कसैको दाँतको बीचमा ग्याप हुन्छ। त्यस्ता ग्यापलाई मिलाउनका लागि समेत डेन्टल अलाइनरको माध्यमबाट सकिन्छ।
सबै उमेरमा डेन्टल अलाइनर गर्न सकिन्छ। तर यसको सीमितता हुन्छ। कसैको गिजा र हड्डीको अवस्था नराम्रो छ भने डेन्टल अलाइनर लगाउन हुँदैन। तर गिजा र हड्डीको अवस्था राम्रो छ भने सबै उमेर समूहले यो लगाउन मिल्छ। कुनै बिरामीको च्यापुकै समस्या छ भने अलाइनर लगाउन मिल्दैन।
दाँत कति बिग्रेको छ भन्ने आधारमा यसको उपचारको समय निर्धारण हुन्छ। सामान्य बिग्रिएको छ भने ६ महिना लाग्छ। यदि धेरै नै बिग्रिएको छ भने कहिलेकाहीँ साढे २ वर्षसम्म पनि डेन्टल अलाइनर लगाउनु पर्ने हुनसक्छ।
दाँतको अधिकांश उपचारको क्रममा अस्पिटल/क्लिनिक धेरै धाउनुपर्ने हुन्छ। चिकित्सकलाई बारम्बार भेट्नुपर्छ। तर यसको राम्रो पक्ष भनेकै चिकित्सकलाई भेटिरहनु पर्छ भन्ने हुँदैन। किनकि एकपटक लगाएपछि चिकित्सकको सल्लाह अनुसार बिरामी आफैले आवश्यक काम गर्न सकिन्छ। अर्को कुरा डेन्टल अलाइनर लगाएको भनेर बाहिरबाट समेत देखिँदैन।
डेन्टल अलाइनर प्रत्येक बिरामीको लागि फरक तरिकाले डिजाइन गरिएको हुन्छ। यो सहज समेत हुन्छ। यसमा तार, हुक नहुने भएकाले सजिलो हुन्छ।
नमिलेका दाँतलाई मिलाउनको कारण राम्रो देखिनलाई मात्र होइन। सुन्दरताको कुरा पनि आउँछ। योसँगै स्वास्थ्यको कुरा धेरै आउँछ। किनकि दाँत मिलेको छैन भने खाना गएर अड्किने, संक्रमण हुने, हड्डी, गिजामा समस्या हुने अनेक हुन्छ।
डेन्टल अलाइनर आएको २० वर्ष भइसकेको छ तर नेपालमा भने यो प्रविधि आएको धेरै भएको छैन।
यसको मुख्य फाइदा भनेकै चिकित्सककहाँ जाने समय बचत हुन्छ भन्ने हो। डेन्टल अलाइनर लगाइसकेपछि दुख्ने, कीरा लाग्ने, संक्रमण हुने भन्ने केही हुँदैन।
यसको नतिजा राम्रो निकाल्नलाई जति सक्दो धेरै समय लगाउनु पर्छ अनि अर्को यसलाई सरसफाइ गरिरहनु पर्छ।
यसलाई जतन गर्न पनि उत्तिकै जरूरी छ। कतिपयले अलाइनर लगाएर विदेश गएका हुन्छन् त्यस्तो अवस्थामा हराइयो भने तत्काल बनाउन गाह्रो हुन्छ।
डेन्टल अलाइनर लगाउनुभन्दा पहिला एक्सरे गरेर परीक्षण गरिने भएकाले कुन उमेर समूह भन्ने हुँदैन। यसको लागि उमेर समूहभन्दा पनि बिरामीको अवस्था कस्तो छ भन्ने निर्धारण गर्न जरूरी छ।
(डेन्टल अलाइनर के हो, यसको फाइदा लगायतका विषयमा केन्द्रित रहेर हामीले भरतपुर अस्पतालका दन्तरोग विभागका प्रमुख तथा साइराम डेन्टलका सञ्चालक डा.अजय न्यौपानेसँग भिडिओ कुराकानी गरेका छौं।)