पूर्वडिआइजी छविलाल जोशीलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ।
मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको प्रतिवेदन माग गरेको हो।
उच्च अदालतले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै सुप्रिम सहकारीको ठगी मुद्दामा के भएको हो र त्यसको आदेश हुँदा के कस्ता आधारहरू लिइएको भनेर खुलाउन सर्वोच्चले आदेश दिएको हो।
यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुंगानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो।