उच्च अदालत पाटनले बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई पाँच आधारमा टेकेर सफाइ दिएको छ।
आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले पाँच वटा आधारमा टेकेर निलम्बित न्यायाधीश गिरीलाई कैद सजाय गर्ने फैसलालाई उल्ट्याएर सफाइ दिएका हुन्।
सफाइ पाएसँगै गिरी सोमबार बिहान १० बजे कारागार कार्यालय डिल्लीबजारबाट रिहा भइसकेका छन्।
गिरीमाथि २०७९ चैत २७ गते राति आफ्नै श्रीमतीलाई पटक-पटक बलात्कार गरेको आरोप थियो। सो अभियोगमा जिल्ला अदालत काठमाडौंले गत जेठ २८ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो।
त्यसयता उनी कारागारमा सजाय काटिरहेका थिए।
उच्च अदालत पाटनले आइतबार उनलाई पाँच आधार टेकेर जिल्लाको फैसलालाई उल्ट्याएको हो।
घटना २०७९ चैत २७ गते राति १० बजेदेखि चैत २८ गते दिउँसोसम्म भएको भन्दै पीडितले प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्। काठमाडौं प्रहरीले न्यायाधीश गिरीलाई त्यही दिन पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
उनीहरू दुई जनाबीच सुरूमा सुन्धारामा भेट भएको थियो। त्यहाँबाट बानेश्वरमा गएर चिया पिएको, बेलुकी रेष्टुरेन्टमा खाना खाएर गोंगबुस्थित जाहेरवालाको डेरामा गएको तथ्यलाई अदालतले स्वीकार गरेको छ।
त्यस्तै डेरामा रात बिताएको र भोलिपल्ट बिहानको खाना पनि सोही डेरामा पकाएर खाएको पनि उल्लेख गरेको छ।
त्यसबीचमा आठ पटकसम्म आफूमाथि जबरजस्ती करणी भएको भन्दै श्रीमतीले जाहेरी दिएकी थिइन्।
अदालतले गिरीलाई छाड्दा पहिलो आधारको रूपमा सोही फ्ल्याटमा बस्ने बहिनीलाई अनुसन्धानको क्रममा बुझ्ने काम नगरेको उल्लेख गरेको छ।
‘बारदातको समयमा सोही फल्याटमा रहेकी जाहेरवालाको बहिनीलाई अनुसन्धानको कममा बुझ्ने कार्यसम्म भएको देखिँदैन’ भन्ने उल्लेख छ।
प्रहरीले अनुसन्धानको क्रममा घरधनीसँग मौका कागज गरेको थियो। जसमा घटना भएको समयमा दुई जनाबीच झगडा भएको नदेखिएको पनि उल्लेख गरेको हो। यसलाई अदालतले दोस्रो आधारको रूपमा प्रस्तुत गरेको छ।
तेस्रो आधारमा भनिएको छ, ‘मिसिल संलग्न घटनास्थल मुचुल्कामा संघर्ष तथा झैझगडा भएकोमा देखिने वा हुन सक्ने लक्षण वा वस्तुस्थिति रहेको पाइँदैन।’
जाहेरवालाको शारीरिक परीक्षणले पनि घटना भएको स्थापित नगरेको पनि अदालतले चौथो आधारको रूपमा प्रस्तुत गरेको छ।
‘जाहेरवालाले शारीरिक परीक्षणका कममा यौनाङ्गमा दुखाई रहेको भने तापनि निजको यौनाङ्गलगायत शरीरका अन्य भागहरूमा तत्कालको कुनै चोटपटक रहे भएको भन्ने समेत परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिँदैन,’ आदेशमा उल्लेख छ।
त्यस्तै पाँचौं आधारको रूपमा प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई आधार मानेको छ।
‘मिसिल संलग्न प्रयोगशाला परीक्षण प्रतिवेदन समेतबाट उनीहरूबीच शारीरिक सम्बन्ध भएको देखिने कुनै तथ्य स्थापित हुन सकेको पाइँदैन,’ आदेशमा उल्लेख छ।
पाँच आधार प्रस्तुत गर्दै अदालतले गिरीलाई सफाइ दिएको हो।
‘चैत २७ गते रातिदेखि २८ गते दिउँसोसम्म ८ पटक जबरजस्ती करणी भएको भन्ने जाहेरी तथा अभियोग रहेकोमा २८ गते बिहानको खाना पकाएर साथै खाएको भन्ने जाहेरवालाको बकपत्रमा उल्लेख भएबाट प्रस्तुत अभियोगको वारदात शंकारहित तवरबाट स्थापित हुनसकेको देखिँदैन,’ आदेशमा भनिएको छ, ‘सो समेतको परिस्थितिमा गिरीमाथिको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन नसकेकोले यी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिनुपर्ने...।’
गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।