हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
आइतबारसम्म सक्रिय भारतबाट आएको जलवाष्पयुक्त हावा, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सोमबारदेखि हटेको छ।
पछिल्लो ६ घन्टायता एक/दुई स्थानमा छिटपुटबाहेक वर्षा भएको छैन। सोमबार बिहान काठमाडौंको आकाश पनि खुलेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेस र देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना छ।