जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए।
'वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’, प्रजिअ अर्यालले भनेका छन्।
कर्फ्यू हटाइए पनि चार किल्ला तोकेर प्रशासनले निषेधाज्ञा जारी गरेको छ। परिस्थिती सम्पूर्ण रूपमा सामान्य नभइसकेको भन्दै प्रशासनले वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञाको समयमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने सूचनामा उल्लेख छ।
प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन्।
वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६:३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो।