कपिलवस्तुमा जंगली जनावरको शिकार खेल्ने जानेक्रममा गोली लागेर एक जना पुरूषको मृत्यु भएको छ।
शनिबार बुद्धभूमि नगरपालिका-९ गब्दहवा बस्ने २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरञ्जन भट्टले जानकारी दिए।
उनी शनिबार बिहान ११ बजेतिर सोही ठाउँका ३४ वर्षीय रामबहादुर थारू र ३६ वर्षीय कालु भन्ने राम थारूसँग जंगली जनावरको शिकार गर्न नजिकैको बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए।
करिब अपराह्न ४ बजेतिर रामबहादुर थारूको भरूवा बन्दुक पड्केर समुन्द्रलाई लागेको थियो।
उक्त गोली लागेर घाइते भएका समुन्द्रलाई उनीहरू दुई जनाले भैरहवा मेडिकल कलेजमा पुर्याएका थिए।
उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरी प्रहरीलाई खबर गरेको थियो।
इलाका प्रहरी कार्यालय गोरूसिंहेबाट यस घटनाको थप अनुसन्धान अघि बढेको हो।
अनुसन्धानको क्रममा प्रहरीले रामबहादुर थारू र राम थारूलाई सुरूमा पक्राउ गरेको थियो। उनीहरूले दुई वटा बन्दुक बोकेका थिए। उक्त बन्दुक प्रवेश थारू भन्ने अर्का व्यक्तिले लुकाउन सहयोग गरेको एसपी भट्टले बताए।
उनलाई प्रहरीले आइतबार दुइवटै बन्दुकसहित पक्राउ गरेको छ।
उनीहरू तीनै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।