काठमाडौंमा ६० लाख लुटपाट गरेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३२ मनहरा प्लानिङस्थित नेपाल तारा स्कुल नजिकैबाट लुटपाट गरेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार चैत २७ गते बुधबार राति ८ बजेतिर लुटपाट भएको हो।
काठमाडौंको बौद्ध बस्ने ४२ वर्षीय रितेश लामालाई जग्गा बैना गर्ने भनेर नवराज खनाल नामक व्यक्तिले बोलाएका थिए।
उनले बोलाएपछि लामा बागमती प्रदेश ०१-०२९ च ३२७२ नम्बरको कारमा चढेर जाँदै थिए।
नेपाल तारा स्कुल नजिकै पुगेपछि एक्कासी अपरिचित व्यक्तिहरूले उनलाई रोकेका थिए। उनले गाडीमा राखेको ६० लाख नगद लुटेर ती व्यक्तिहरू फरार भएका थिए।
यसरी लुटपाट भएको सूचना पछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा राज पराजुली, हरिराम खत्री, राजेश भण्डारी, सार्की माझी, कुशल बस्नेत, रन्जित लामा, सुयोग लामा, उत्तम मगर, राजु मगर, टिकाबहादुर मगर, रमेशबहादुर मगर, लबबहादुर मगर, रूपक थापा मगर, सागर मगर, दावा लामा, बाबु तामाङ, सुजन लामा र रिवेलकुमार तामाङ छन्।
उनीहरूबाट प्रहरीले ३०लाख १ हजार नगद बरामद गरेको छ।
घटनाको क्रममा प्रयोग भएका बा ८० प २३८० नं. र बा ७२ प ६५२९ नंको स्कुटर बरामद भएको छ। बागमती प्रदेश ०२-०५५ प ६००९ नंको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।