काठमाडौंको तीनकुनेस्थित निजी घरमा आगो लगाउने व्यक्तिहरू दुर्गा प्रसाईंनिकट अनवरत तत्पर फौज (एटिएफ) का सदस्यहरू रहेको खुलेको प्रहरीले बताएको छ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक बनेको थियो। सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाट गरेका थिए।
तीनकुने क्षेत्रमा त्यस दिन दुई जनाको मृत्यु भएको थियो।
एभिन्युज टेलिभिनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको घरमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान भएको पनि प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आगजनी गर्ने व्यक्तिहरूको पहिचान खुलेको हो।
प्रहरीले पछिल्लो समय ८२ जनालाई पक्राउ गरी राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
तीमध्ये नै तीनकुनेको घरमा आगजनी गर्ने दुई जनाको पहिचान भएको हो।
आगजनी गरेको भिडिओ फेला परेको पनि प्रहरीको भनाइ छ। उक्त घरमा आगजनी गर्नेहरू रामेछाप सुनापति गाउँपालिका १ का २२ वर्षीय सरोज गौतम र अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही रहेको प्रहरीको भनाइ छ।
उनीहरू दुवै जना दुर्गा प्रसाईंको फौजमा कार्यरत रहेको खुलेको एसपी बोहराले बताए। उनीहरूले अनवरत तत्पर फौज (एटिएफ) नामको फौज बनाएका थिए। जसमा गौतम प्रवक्ताको जिम्मेवारीमा छन्। शाही भने एटिएफमा सदस्य हुन्।
दुर्गा प्रसाईंले प्रहरीलाई पेलेर गाडी कुदाउँदा गौतम त्यही गाडीमा झुण्डिएर बसेका थिए। यता शाहीले भने आगजनी सँगै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा समेत ढुंगामुढा गरेका थिए।