हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका इलाम र झापाका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।
आइतबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ।
कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आइतबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको मौसविद डेविड ढकालले जानकारी दिए।
पानी पार्ने वायु कमजोर बन्दै गएकाले मौसम पनि सफा हुँदै जाने उनले बताए।
गत बिहीबारदेखि भारतबाट आएको जलवास्पयुक्त हावा र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले देशभरजसो वर्षा गराएको थियो। बिहीबारको तुलनामा शुक्रबार र शुक्रबारको तुलनमा शनिबार कम वर्षा भएको थियो।
'अब पानी पर्न रोकिएर मौसम सफा हुँदै जान्छ,' मौसमविद ढकालले भने।