पूर्वी नवलपरासीको विनयी खोलामा बाढीले बगाएको डाइभर्सन मर्मतसम्भारपछि पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल खण्ड सञ्चालनमा आएको छ।
शनिबार बिहानको वर्षाका कारण आएको बाढीले उक्त डाइभर्सन बगाउँदा राजमार्ग अवरूद्ध भएको थियो। दिनभरिको मर्मतपछि राति ९ बजेबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए।
सडक अवरूद्ध हुँदा अत्यावश्यक बाहेकका सवारी साधन दिनभरि नै खोला वारपार रोकिएका थिए। अत्यावश्यक सवारी साधनलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी नेपालले बताए।
गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएको थियो। पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी आवतजावत गराइँदै आएको छ।