नेपाल पत्रकार महासंघले तीनकुने घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएको, प्रेस स्वतन्त्रता हनन लगायत सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ।
महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शुक्रबार आयोगका अध्यक्ष तप बहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तीनकुनेमा भएको घटनाको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो।
त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले छानबिन गरिरहेकाले पत्रकारको मृत्यु भएको र प्रेस स्वतन्त्रता हननका घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गरे।
विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषिमाथि कारबाही सिफारिस सहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उनको भनाइ थियो।
पत्रकारको मृत्युका दोषीमाथि कारबाही, मृतक पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषीमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासंघले जनाएको छ। यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताए।
सरकारले निष्पक्ष छानबिन लगायत महासंघको माग सुनुवाइ नगरेझैं आयोगसँग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराए।
दाहालका अनुसार, शुक्रबार महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन्। केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन्।