काठमाडौंको तीनकुने घटना भएको दुई सातापछि दुर्गा प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। फरार रहनका लागि प्रसाईंले सामाजिक सञ्जाल फेसबुक भरपुर प्रयोग गरे।
प्रहरी, समर्थक र आम मानिसलाई झुक्क्याउन र भ्रममा छर्न उनले फेसबुक प्रयोग गरेका हुन्। प्रसाईंको आफ्नो फेसबुक पेज 'भेरिफाइड' छ। उनको वास्तविक आइडीबाट अन्तिम पटक चैत १५ गते साँझ ६:४५ मा पोस्ट भएको छ। त्यसपछि भने उनको त्यो फेसबुक आइडी निष्क्रिय रह्यो।
प्रहरीले प्रसाईंलाई त्यही दिन साँझदेखि नै ट्र्याक गर्न थालिसकेको थियो। तर उनी फरार भए। दुई दिन पछि एकाएक फेसबुकमा 'दुर्गा प्रसाईंज्यूको सन्देश' भन्दै भिडिओ बाहिरियो।
उक्त भिडिओ दुर्गा प्रसाईं (महाअभियान संस्थापक सचिवालय) नामक आइडीबाट सार्वजनिक भएको थियो।
उनले एक मन्दिर अगाडि बसेर आफू काठमाडौंकै कुनै मन्दिरमा बसिरहेको र आफू कतै नभागेको दाबी गरे। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार त्यो भिडिओ प्रसाईंले भारतमै खिचेका थिए। जहाँबाट उनले खिचेर नेपालमा उनका सहयोगीलाई पठाएका थिए।
'प्रसाईं र उनका अंगरक्षक दीपक खड्का सँगै हिँडे। अन्य पनि उनका केही सहयोगीहरू रहेछन्। उनीहरूले भिडिओ खिच्ने रहेछन्,' अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
तर त्यो फेसबुक आइडी भने नेपालबाटै सञ्चालन हुँदै आएको छ।
प्रसाईंको भिडिओ भारतबाट खिचेर नेपाल पठाइएको ती अधिकारीले बताए।
'उनले भारतमै भिडिओ खिचे। पोस्ट गर्न नेपालकै मान्छेलाई पठाए,' उनले भने, 'त्यही फेसबुक आइडीबाटै धेरै भ्रम छर्ने काम भएको छ।'
प्रसाईंले काठमाडौं भनेर दाबी गरेको मन्दिर असमको बक्सा जिल्लास्थित निकासी भन्ने ठाउँको थियो।
अनुसन्धानमा संलग्न अधिकारीहरूले पनि भिडिओमा देखिएको दृश्य काठमाडौंको हुनै नसक्नेमा विश्वस्त थिए। प्रहरी अधिकारीहरू नेपालको तराईं भेग वा भारत नै हुनुपर्नेमा विश्वस्त थिए।
त्यसरी भिडिओ पोस्ट भएपछि पनि उक्त आइडीबाट विभिन्न सन्देशहरू आइरहेका थिए। जसले प्रहरीलाई चुनौती समेत दिइरहेको थियो।
त्यसैबीच बुधबार दुर्गा प्रसाईंको अर्को भिडिओ त्यही आइडीबाट सार्वजनिक भयो। तर यसपालि भने ब्याकग्राउन्ड (पृष्ठभूमि) सम्पादन गरी ताल र हिमाल अगाडि बसेर बोलिरहेको जस्तो देखिने देखाइएको थियो।
प्रहरीका अनुसार प्रसाईंको टिममा रहेका व्यक्तिहरू प्राविधिक रूपमा ज्ञान भएकै देखियो।
'उनको टिममा रहेका व्यक्तिहरू प्राविधिक रूपमा पनि बलिया देखिए। यसले गर्दा पनि केही समय लुक्न सके,' उनले भने, 'घरमा पनि छोरासँग कुरा गर्न अनेक तरिकाले कुराकानी गरेको देखियो।'
पछिल्लो भिडिओ सन्देशले भने उनले आफ्नो ज्यानको रक्षा हुने सुनिश्चित भए आत्मसमर्पण गर्ने समेत दाबी गरे। अनुसन्धानकै लागि बनेको विशेष ब्युरोको टोली पनि दिल्लीमा थियो। अनुसन्धानबाट प्रसाईं प्रयागराज, लखनउ, दिल्ली, राजस्थान, भरतपुर हुँदै असमको बक्सामा पुगेको पत्ता लागेको थियो।
त्यसपछि प्रहरी बिहीबार राति उनी बसेको घरसम्म पुगेको हो।
प्रहरीले उनलाई पक्राउ गरे पनि यता उनको आइडीबाट भने प्रसाईंले आत्मसमर्पण गरेको भन्दै पोस्ट आएको थियो।
'अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाका लागि आफै भारतको असम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ। हिजो मात्र हामीले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौं, भनेका थियौं र आज उपस्थित भयौ! (दुर्गा प्रसाईं) जय देश, जय राष्ट्रवाद!'
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पनि उनले आत्मसमर्पण नगरेको बरू प्रहरी आफैले उनी बसेको घर पत्ता लगाएर पुगेको जनाएको छ।