सूचना तथा प्रसारण विभागले पत्रकार सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ।
सूचना विभागले आयोजना गरेको नववर्ष २०८२ को उपलक्ष्यमा कर्मचारी तथा सञ्चारकर्मीहरूमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै विभागका महानिर्देशक प्रदीप परियारले पत्रकार दुर्घटना बीमा कार्यक्रमलाई विस्तार गर्ने समेत बताए।
'डिजिटल पत्रकारिताको लागि पहल गर्ने, पत्रकार छात्रवृत्ति कार्यक्रम, डाटा जर्नालिजम लगायतका कार्यक्रमलाई अगाडि बढाउने योजना छ,' उनले भने, 'स्वतन्त्र, जनमुखी र जबाफदेही पत्रकारिताका लागि हामी अगाडि बढ्नु पर्छ।'
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रका समस्या समाधान गर्नका लागि सबैको चासो हुनुपर्ने बताइन्।
'एकातिर पत्रकारको व्यावसायिक सुरक्षाको कुरा छ भने अर्कोतिर पत्रकार स्वयमकै सुरक्षाको सवाल छ। दसौं महिनासम्म पारिश्रमिक नदिने लापरबाहीको अन्त्य कसरी गर्ने भन्ने समस्या छ,' उनले भनिन्, 'पत्रकारहरूलाई सामाजिक सुरक्षामा समेट्न जरूरी छ भने विभिन्न खालका मानवीय क्षतिबाट समेत जोगाउनु पर्ने भएको छ।'
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस रजिष्टारले पहल गर्दा पारिश्रमिक लिन सहज हुने बताए।
उनले सूचना विभागले जस्तै अन्य सरकारी कार्यालयले पनि अनलाइन सेवा दिनुपर्ने सुझाव दिए।
'नेपाल पत्रकार महासंघले प्रेस रजिष्टारको कार्यालयलाई स्वायत्त बनाउन चाहेको हो। त्यही अनुसार सरकारले निर्णय गरे पनि कार्यान्वयन भएको छैन,' उनले भने, 'अहिलेकै संरचनाबाट पनि कसरी स्वायत्त ढंगले काम गर्न सकिन्छ भन्नेमा ध्यान जाओस्।'
कार्यक्रममा सूचना तथा प्रसारण विभागले प्रकाशन गरेको २०८२ को क्यालेण्डर तथा डायरी समेत सार्वजनिक गरेको थियो।