कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरू गरेको छ।
शुक्रबार जोगबनी रानी नाकाबाट स्टिकर टाँस्न सुरू गरिएको हो।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरूआत गरेका हुन्।
२०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज होस् भनेर यो अभियान सुरू गरेको हो।
भारतबाट आउने पर्यटकहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरी लागू गर्न लागेको आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।
यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरू बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको मन्त्री भण्डारीले बताए।
सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी उनले दिए।
मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टाँसेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए।
कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकरभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ।
प्रहरी र कर्मचारी राखेर सानो कार्यालय समेत स्थापना गरी यो काम अगाडि बढाइएको छ।