राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंलाई राज्यविरूद्ध कसुर र संगठित अपराध कसुरमा मुद्दा चलाउने तयारी भएको छ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका 'कमाण्डर' प्रसाईं शुक्रबार पक्राउ परेका थिए।
उनलाई अहिले यी दुवै मुद्दा लागे पनि अनुसन्धानको क्रममा ज्यान मुद्दामा लाग्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता अपिलराज बोहराले जानकारी दिए।
'त्योसँग थप अरू कुन कुन मुद्दा लगाउन सकिन्छ भनेर छलफल पनि भइरहेको छ,' एसपी बोहराले भने।
उनलाई शुक्रबार बिहान काकडभिट्टाबाट नेपाल प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याएको थियो।
राजसंस्था पुनर्स्थापना गर्न भन्दै चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि धकेलाधकेल भएको थियो। प्रसाईंले गाडी हुइँक्याउँदै सुरक्षा घेरा तोडेका थिए।
प्रहरीले अश्रुग्यास, पानीका फोहरा र गोलीसमेत चलाएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। चैत १५ गते अपराह्नदेखि प्रसाईं फरार थिए।