नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ।
बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा 'दुर्गा प्रसाईं पक्राउ' भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका हुन्।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।'
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाईं फरार छन्। सो आन्दोलनका कमान्डर उनलाई प्रहरीले खोजी गरिरहेको छ।
सुरूमा उनी आन्दोलनबाट भागेर इमाडोल पुगेका थिए। आफूलाई धर्मगुरू भनेर चिनाउने पुस्कर खतिवडाको घरमा पुगेर प्रसाईंले खाजा खाएका थिए। त्यहाँबाट उनी गाडी लिएर झापा पुगेकोसम्म प्रहरीले पत्ता लगाएको थियो।
प्रसाईं झापासम्म गएको गाडी र सो गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रसाईंलाई भने हालसम्म पक्रिन सकेको छैन।
अर्कातिर प्रसाईंले आन्दोलनको भोलिपल्टैदेखि सामाजिक सञ्जालमा भिडिओ राख्दै आफू नभागेको भनिरहेका छन्।
तीनकुने घटनामा विभिन्न मुद्दामा हालसम्म ७५ जनाभन्दा बढी हिरासतमा छन्। आन्दोलनका नेताहरू रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई प्रहरीले म्याद थपी अनुसन्धान गरिरहेको छ।
तीनकुने आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो।
