चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानगरपालिका-९ मिलन चोक घर भई हाल ललितपुर हात्तीवन बस्ने ३१ वर्षीय शिशिर जिसी, कैलाली धनगढी उपमहानगरपालिका-२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाही मिर्चौया नगरपालिका-६ का ४६ वर्षीय मनोकुमार सापकोटा हुन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं बिहीबार पक्राउ गरेको हो।
उनीहरूलाई तीनकुने घटनामा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार उनीहरूमाथि आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
चैत १५ गते राजावादी समर्थक समूहले गरेको प्रदर्शनमा तीनकुने क्षेत्र आसपास आगजनी र तोडफोड गरेका थिए। उक्त घटनामा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।