अछाममा चट्याङबाट १३ वटा भेंडा मरेका छन् भने थप नौ वटा भेंडा फेला परेका छैनन्।
रामारोशन गाउँपालिका – ६ भाटाकाटियास्थित किर्किटे भन्ने जंगलमा स्थानीय किसानले चराउन लगेका भेंडा चट्याङले मरेका हुन्।
अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीका अनुसार बुधबार राति ९ बजेतिर परेको चट्याङले लोकबहादुर साउदले पालेका ९० भेंडामध्ये १२ वटा र सर्पबहादुर राउदले पालेका ८० वडा भेंडामध्ये १ भेंडा चट्याङले मरेका हुन्।
भेडी गोठमा लगिएकामध्ये दुबै जनाको गरी थप ९ वटा भेंडा फेला नपरेको डिएसपी भण्डारीले बताए।
अछाममा गएराति आएको हावाहुरीसहितको वर्षा र चट्याङले पाँच जनाको घरमा क्षति पुगेको छ।
साँफेबगर–४ का घरमा चट्याङले मिटर बक्स, तार, राउटर लगायतका उपकरणमा क्षति पुगेको छ।
हावाहुरीले तुर्माखाँदा गाउँपालिका–५ स्थित सरस्वती निमावि ढाङटाको दुई कोठे जस्ता पाता र सोही वडाको नवदुर्गा आवासीय विद्यालय जाम्पानीको दुई कोठे भवनको जस्ता पनि पनि उठाइदिएको छ।
त्यस्तै, हावाहुरीले चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका शंकर भुलको चार कोठे घरको स्लेटको छानो हावाहुरीले झारेको छ। मेल्लेख गाउँपालिका –१ भट्टेखोलाका पाउने बिकको ८ कोठे घरको जस्तापाता पनि हावाहुरीले उडाइदिएको प्रहरीले जानकारी दिएको छ।

