हावाहुरीका कारण बाँकेको नेपालगञ्जमा विद्युत अवरूद्ध भएको छ।
बुधबार राति १० बजेदेखि चलेको हावाहुरीका कारण बिजुली अवरूद्ध भएको हो। यो समाचार तयार पार्दासम्म बिजुली आएको छैन।
हावाहुरीका कारण ३३ केभी प्रशारण लाइनका पोल र टावरमा क्षति पुगेको छ। त्यसै कारण बिजुली अवरूद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख राजिव सिंहले बताए।
आसपासका घरका जस्तापाता उडाएर ल्याएर ३३ केभी प्रशारण लाइन र पोलमा क्षति पुगेको पनि उनले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार डडुवास्थित वनकट्टी प्रहरी चौकीकै छानो उडाएको छ। अहिले प्रहरीले बाहिरै बसेर सेवा दिइरहेको छ।
‘त्यहाँको प्रहरी चौकीको सबै छाना उडाएपछि प्रहरी बाहिरै बसेर सेवा दिइरहेका छन्,’ उनले भने, ‘एउटा कोठा भने पक्की रहेका कारण त्यसैमा उनीहरूले बन्दोबस्तीका सामग्री राखेका छन्।’
कोहलपुर ग्रिडका चार वटा सर्किटमध्ये दुई वटा सर्किट सञ्चालनमा आइसकेको र थप दुई वटा सर्किटमा पुगेको क्षति मर्मतका लागि चार वटा गाडीमा कर्मचारी खटाएको सिंहले बताए।
केही समयमा नेपालगञ्ज बजारमा विद्युत नियमित हुने उनले बताए।
कर्णाली प्रदेशको सुर्खेत वितरणको प्रशारण लाइनमा पनि हावाहुरीले क्षति पुगेको हुँदा त्यसतर्फ पनि विद्युत नियमित हुन नसकेको उनले बताए।
‘हावाहुरीले रूखहरू ढलेका छन्। पोलहरूमा पनि क्षति पुगेका कारण विद्युत नियमित हुन नसकेको हो,’ उनले भने।
हावाहुरीबाट बर्दियामा पनि क्षति पुगेको छ।
बर्दियाको राजापुर क्षेत्रमा सबै भन्दा बढी क्षति पुगेको छ।
भुरीगाउँ क्षेत्रको वितरण लाइन तथा पोलहरूमा पनि क्षति पुगेका कारण त्यहाँ पनि विद्युत नियमित हुन सकेको छैन।
बर्दियामा पानी परिरहेका कारण पनि काम गर्न गाह्रो भइरहेको छ।
दाङमा हावाहुरी पछि अबरुद्ध विद्युत राति साढे दुई बजेपछि नियमित भएको थियो।
तुलसीपुर वितरण केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका-११ शुकौरा गाउँमा विद्युत पोलमा पुगेको क्षति मर्मत गरी बिहान विद्युत नियमित भएको हो।
बाँकेको एउटा घर र दाङमा पनि एउटा घरमा चट्याङ परेपनि मानविय क्षति भने छैन।