पाँच वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
गोरखाका गोरखा नगरपालिका-११ का २१ वर्षीय निरज ढकाल पक्राउ परेका हुन्।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
काठमाडौं टोखा नगरपालिका-९ घर भाडामा लिई खाजा घर संचालन गरी बालिकालाई यौन श्रममा लगाएको मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय भएपछि प्रहरीले पक्राउ गरेको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए।
यसअघि प्रहरीले उनलाई २०७९ मंसिर २५ गते पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षको लागि एक लाख धरौटीमा छाडेको थियो।
२०८१ मंसिर ५ गते मानव बेचबिखन तथा ओसारपसार कसूरमा ५ वर्ष कैद सजाय र २५ हजार रूपैयाँ जरिवाना तोकेको थियो। उक्त सजाय तोकिएर उनी फरार थिए।
उनलाई जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको एसपी कुँवरले बताए।