काठमाडौंमा जारी शिक्षक आन्दोलनको सन्दर्भमा स्थानीय सरकारको प्रतिनिधित्व गर्ने गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरेका छन्।
साथै, संघीय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गरिएको छ।
गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरिएको हो।
राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनप्रति स्थानीय सरकारका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, 'संघीय शिक्षा ऐन जारी गर्नुपर्ने माग प्रारम्भदेखि नै हामीले उठाउँदै आएका हौं। संविधान जारी भएको दशक पुग्न लाग्दा समेत पञ्चायतकालीन कानुनद्वारा शिक्षा क्षेत्र सञ्चालन हुनु दुःखद् हो।'
विज्ञप्तिमा विद्यालय भर्ना अभियान, नयाँ शैक्षिक सत्रको सुरूआत तथा एसइईको उत्तरपुस्तिका परीक्षणजस्ता महत्वपूर्ण कार्य अवरूद्ध भएको उल्लेख गर्दै आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्कन हार्दिक अनुरोध गरिएको छ। साथै, यस्तो वातावरण बनाउन नेपाल सरकारसमक्ष पनि आग्रह गरिएको छ।
संयुक्त विज्ञप्तिमा संविधानबाहिर गएर समस्याको समाधान खोजिनु लोकतान्त्रिक अभ्यासको विरोधमा हुने जनाउँदै, विगतमा संविधानविपरीत भएका कतिपय सम्झौता र समझदारी नै समस्या उत्पन्न हुने कारण रहेको दाबी गरिएको छ।
'संवैधानिक प्रावधानलाई अक्षरशः कार्यान्वयन गर्ने गरी गरिने सम्झौता र समझदारीहरूलाई हामी स्वागत गर्छौं,' विज्ञप्तिमा उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रमा दीर्घकालीन समाधानको आधार संविधानमै खोजिनुपर्ने सुझाव दिँदै महासंघहरूले आन्दोलन तत्काल अन्त्य गरेर शिक्षा क्षेत्रको नियमितता सुनिश्चित गर्न आग्रह गरेका छन्।