विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको सोमबार सम्पन्न १७ औं बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद पश्चातको पुनः निर्माण तथा पुनः स्थापना योजना कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ।
प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा भएको बैठकमा गत पुस २८ गतेको १६ औं परिषद बैठकबाट स्वीकृत पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद पश्चातको पुनः निर्माण तथा पुनः स्थापना योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराइएको थियो।
योजना स्वीकृतिपछि गत माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनः निर्माण कार्य थालनी भएको थियो। सोमबारको बैठकमा उक्त योजनामा छुट भएका संरचनाहरूको पुनः निर्माणका लागि प्राप्त प्रस्तावलाई सम्बन्धित मन्त्रालयबाट यथार्थ पुनरवलोकन गराई आवश्यकता र प्राथमिकताका आधारमा समावेश गर्ने निर्णय भएको छ।
बैठकले वन डढेलो र सोसमेतका कारणले सिर्जित वायु प्रदूषणको गाम्भीर्यलाई ध्यानमा राखी यसको रोकथाम तथा नियन्त्रण गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनः निर्माण र पुनः स्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ।
सोह्रौं बैठकले डोटी तथा जाजरकोट केन्द्रविन्दु भई भएको भूकम्प पञ्चातको क्षति आकलन, निजी आवास पुनः निर्माण तथा प्रबलीकरण प्रक्रिया प्रारम्भ गर्ने पनि निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले पुनः निर्माण र पुनः स्थापनाको कार्यमा प्राधिकरण कामले गति लिनुपर्नेमा जोड दिनुभयो। उहाँले विपदका समयमा उद्धार र राहतका लागि गृह मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिनुभयो।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलको नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो।