खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षौंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका छन्।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको मागपत्र पेश गरेपछि मन्त्री यादवले सो कुरा बताएका हुन्।
मन्त्री यादवले भने, 'धरानका नागरिकको खानेपानीको समस्याका विषयमा मसहित सिङ्गो मन्त्रालय जानकार छ। त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ। समस्या समाधान गर्छौं।'
मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिएका थिए।
नगर प्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरी दिनका लागि मागपत्र बुझाएका थिए।
गर्मी मौसम सुरू भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सृजना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दु:ख भएको नगर प्रमुख राईले बताए।
उनले भने, 'पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी मौसम सुरू भएकाले झन् समस्या भयो, स्थायी रूपमा पानीको समस्या समाधनका लागि बजेट माग गरेका छौं।'