अर्कैको नाममा रहेको जग्गा देखाएर ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्कैको जग्गा आफ्नो भनेर ४५ लाख रुपैयाँ बैना बापतको रकम लिएको आरोपमा एक जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर बस्ने ४३ वर्षीय रामकुमार चौलागाई छन्। उनले अरूले नै प्लटिङ गरेको जग्गालाई ‘सस्तो छ, घर बनाउन मिल्छ, पछि बेचे पनि राम्रो मूल्य आउँछ’ भनेर पीडितलाई प्रलोभनमा पारेका थिए।
यसरी पीडितबाट ४५ लाख ५० हजार रुपैयाँ बैना लिएका थिए। मालपोत कार्यालयको अभिलेखमा हेर्दा भने दर्ता समेत नभएको देखिएपछि काठमाडौं जिल्ला अदालतबाट प्रहरीले चैत २१ गते पक्राउ पुर्जी लिएको थियो।
पक्राउ पुर्जी लिएर प्रहरीले चौलागाईलाई सोमबार बिहान गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाएइको छ।
उनीविरूद्ध विभिन्न प्रहरी कार्यालयहरूमा जम्मा ८ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा बाँकी रहेको एसपी जिसीले बताए। करिब एक करोड ७४ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो रकम भुक्तान हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ।