सिराहामा बोराभित्र १३ वर्षीया बालिकाको शव फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका-९ गोबिनपुरकी १३ वर्षीया गुलसना खातुनको शव फेला परेको घटनामा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको हो।
प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न गोबिन्दपुरकै २४ वर्षीय जनक भन्ने वीरबहादुर सार्कीलाई पक्राउ गरेको हो।
गुलसना फागुन २९ गते अन्दाजी ९ बजेतिर घाँस काट्न भनेर घरबाट हिँडेकी थिइन्। तर उनी फर्किएर नआएपछि परिवारले खोजी थालेका थिए। चैत १ गते इलाका प्रहरी कार्यालय मिचैयामा गुलसनाकी आमा जेहदाले निवेदन दिएकी थिइन्।
चैत १२ गते मध्याह्नमा गोलबजार-९ घुर्मी खोला किनारामा एक बालिकाको शव फेला परेको थियो।
शव बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो।
ती बालिका बेचन अली र जेहदा खातुनकी १३ वर्षीया गुलसना नै रहेको खुलेको थियो।
जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्र पासवानका अनुसार शव सडिगलिसकेको अवस्थामा फेला परेको थियो।
सनाखत भएपछि इलाका प्रहरी कार्यालय मिर्चैया, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानको क्रममा प्रहरीले आइतबार जनकलाई पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बारीमा लगाएको करेन्ट लागेर गुलसनाको मृत्यु भएको हो।
फागुन २९ गते बिहान ९ बजेतिर जनक सार्कीले आफ्नो मकै बारीमा पाडो तथा अन्य जनावरबाट मकै बाली जोगाउन भनेर विद्युतीय धराप राखेका थिए।
त्यसको केहीबेरमै एउटी केटी चिच्याएको आवाज सुनेर जनक बारीमा पुगेको बयानमा बताएका छन्।
त्यहाँ गुलसनालाई देखेपछि उनले ल्याएको बोरामै राखेर खोला किनारमा लगेको बताएका छन्।
त्यहाँ लगेर खुर्पाले खाल्डो खनेर पुरेको पनि उनले प्रहरीसँग बताएका छन्।
यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।