रोल्पामा बसको ठक्करबाट एक जना यात्रुको मृत्यु भएको छ।
माडी गाउँपालिका–८ औलका ८० वर्षीय देवराम घर्तीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।
दाङको घोराहीबाट रोल्पा चुनवाङ हुँदै पूर्वी रूकुमतर्फ जाँदै गरेको रा १ ख २७७८ नम्बरको बसले ठक्कर दिँदा घर्तीको घटनास्थलमै मृत्यु भएको थियो। घर्ती बसबाट ओर्लिएर बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो।
माडी गाउँपालिका–२ घर्तीगाउँ लिवाङमोड नजिकै बसले सोमबार बिहान ११:२० बजेतिर ठक्कर दिएको थियो।
नम्बर नखुलेको बसले एक पुरूषलाई ठक्कर दिएको खबर स्थानीयले फोनमार्फत् प्रहरीलाई सूचना दिएका थिए। लगत्तै इलाका प्रहरी घर्ती गाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा ९ जनाको टोली घटनास्थल पुगेको थियो।
यात्रुसँग बुझ्ने क्रममा घर्तीको सोही बसको ठक्करबाट मृत्यु भएको खुलेको थियो। बसका चालक रून्टीगढी गाउँपालिका – ९ का ३२ वर्षीय प्रकाश बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।