ठेकेदार शारदाप्रसाद अधिकारीको नाममा रहेका विभिन्न स्थानका घरजग्गा लिलामी भइरहेको छ। नबिल बैंकले ऋण असुलीका क्रममा ठेकेदार अधिकारीको नाममा रहेको विभिन्न स्थानका घरजग्गा लिलामीमा चढाएको हो।
बैंकले माघमै उनका घरजग्गा लिलामीको सूचना सार्वजनिक गरेको थियो।
अधिकारी माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी हुन्। अधिकारीको खुमलटारस्थित एक घरमा प्रचण्ड भाडा बसिरहेका छन्।
स्रोतका अनुसार नबिल बैंकले अधिकारीका नाममा रहेका पाँच ठाउँका घरजमिन आफ्नो नाममा ल्याएको छ। यसमध्ये दुई ठाउँको लिलामी पनि गरिसकेको छ।
अधिकारीका नाममा रहेको ललितपुर जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ४१ आना, मानभवनमा रहेको पाँचतले घर सहित एक रोपनी जग्गा, स्युचाटारमा साढे दुईतले घरसहित ३.१ आना जग्गा, नैकाप खड्का गाउँमा रहेको ६ आना र खुमलटारमा रहेको ६.५ आना जग्गा बैंकले आफ्नो बनाएको हो।
यीमध्ये नैकाप र स्युचाटारमाको सम्पत्ति लिलाम बिक्री भइसकेको स्रोतले जनाएको छ।
अब ललितपुर प्रशासन कार्यालय नजिकको ४१ आना र खुमलटारको ६.५ आना जग्गा आउँदो वैशाख पहिलो सातासम्ममा बिक्री भइसक्ने बताइएको छ।
बैंकले ठेकेदार अधिकारीबाट ७० करोड रूपैयाँ उठाउन बाँकी छ। हालसम्म एक करोड १० लाख रूपैयाँ बराबरको खराब कर्जा उठाइसकेको छ।
अधिकारीको प्रचण्ड अहिले बस्दै आएको खुमलटारको दुई रोपनीभन्दा बढी जग्गा र घरसमेत एक बैंकमा धितो राखिएको स्रोतले बताएको छ।
निर्माण व्यवसायी अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी छ। पछिल्लो समय उनी बढी मात्रामा प्रचण्डका घरबेटीकै रूपमा चिनिँदै आएका छन्।
नुवाकोटका अधिकारी सशस्त्र युद्ध सुरू हुँदैदेखि माओवादी निकट थिए। उनलाई माओवादीका पोस्टबहादुर बोगटीले प्रचण्डसँग चिनजान गराइदिएका थिए। अधिकारीको गाउँमा आउँदाजाँदा नै उनको बोगटीसँग चिनजान थियो।
पछि प्रचण्डसँग पनि अधिकारीको सम्बन्ध झाँगिदै गयो। प्रचण्डका छोरा प्रकाशसँग पनि अधिकारीको सम्बन्ध राम्रो थियो। प्रकाशको निधन हुँदा प्रचण्डको परिवार लाजिम्पाट बस्थ्यो।
अधिकारीले ठाउँ फेरिने भन्दै उनलाई आफ्नो घरमा बस्न सुझाएका थिए। त्यसयता उनी प्रचण्डका घरबेटी बनेका हुन्।
अधिकारीको कम्पनीले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन्। त्यसैले उनको कम्पनी बारम्बार कालोसूचीमा परेको थियो।
यसरी समयमा काम नगर्ने कम्पनीका मालिकको घरमा बसेको भनेर प्रचण्डको समेत खुब आलोचना एको थियो। त्यो बेला माओवादीका केही नेता-कार्यकर्ताहरूले समेत यसको आलोचना गरेका थिए।
माओवादीको एक कार्यक्रममा त कार्यकर्ताहरूले 'बरू पैसा उठाएर अध्यक्षलाई घर किनिदिन्छौं' सम्म भनेका थिए। त्यसपछि प्रचण्डले आफू अधिकारीको घरबाट सर्ने भनेका थिए। तर उनी सरेनन्।
सुरूमा कम्प्युटरको काम गरेका अधिकारीले २०६० सालतिर द मोर्डन शेर्पा नाम गरेको कम्पनी किने। र, नाम फेरेर शैलुङ कन्स्ट्रक्सन बनाएका हुन्।
उनले ७० वटा भन्दा बढी साना ठूला ठेक्का लिई काम गरिसकेका छन्।