राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा चैत १५ गतेदेखि प्रहरी हिरासतमा छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा एउटै कोठामा राखिएको छ।
मिश्र, राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो।
वरिष्ठ उपाध्यक्ष मिश्रलाई पहिलादेखि अरू थुनुवाहरूसँगै राखिएको थियो भने सांसदसमेत रहेका महामन्त्री राणालाई भने बेग्लै कोठामा राखिएको थियो।
मिश्रले आफूलाई राखिएको कोठामा हो-हल्ला भएकाले निदाउन गाह्रो परेको गुनासो गरेपछि उनलाई महामन्त्री राणासँगै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिलराज बोहराले जानकारी दिए। 'अहिले उहाँहरूलाई हामीले सँगै राखेका छौं,' उनले भने।
राणा र मिश्रलाई राज्य विरूद्धको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत २० गते जिल्ला अदालत काठमाडौंबाट दोस्रो पटक ७ दिनको लागि म्याद थप गरिएको थियो।
मिश्र र राणासहित ६७ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको हो।
उनीहरू सबै जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको हो। उनीहरूमध्ये २० जनाविरूद्ध राजद्रोहको मुद्दामा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले तीनकुने घटनामा संलग्न थप व्यक्तिहरूलाई पनि खोजी गरी पक्राउ गरिरहेको छ।
पक्राउ परेका सबै जनालाई परिसरकै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। त्यसबीच पार्टी निकट व्यक्ति र मानव अधिकारकर्मीहरूले दुई नेतालाई हिरासतमा पुगेर भेटिरहेका छन्।
भेटघाटका लागि हिरासत पुगेका केही अधिकारकर्मीहरूले भने उनीहरूमाथि अमानवीय व्यवहार गर्दै आएको प्रहरी प्रशासनमाथि आरोप लगाएका छन्। त्यसैले उनीहरूलाई कसरी राखिएको छ भनेर हामीले प्रहरीलाई सोधेका छौं।
एसपी बोहराका अनुसार परिसमा दैनिक १ सय ७७ जनादेखि २ सय जनासम्म हिरासत हुन्छन्। उनीहरूलाई कारागार ऐन २०१९ को दफा ६ मा भएको 'थुनुवा वा कैदीलाई राख्ने व्यवस्था' अनुसार राखिएको छ।
मुद्दा अनुसार हिरासतमा रहेका व्यक्तिहरूलाई फरक-फरक कोठामा राखिएको छ। त्यही अनुसारले उनीहरूलाई खाना र बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
'बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्म आफन्तहरूलाई भेट्ने समय छुट्याइएको छ,' उनले भने, 'कतिलाई उनीहरूकै कक्षमा र कतिलाई भेटघाट कक्षमा भेट्न दिइएको छ।'
खानाका लागि भने ९ देखि ११ बजेसम्म विभिन्न समय अवधिभित्र मिलाएर दिइएको छ। उनीहरू आफैले पनि खानाको व्यवस्थापन गर्न पाउने व्यवस्था छ तर अहिले उनीहरूले परिसरकै क्यान्टिनको खाना खाइरहेका छन्।
उनीहरूको स्वास्थ्य चेकअपदेखि लिएर सरकारले दिने कुनै पनि सुविधाबाट बञ्चित नगराइएको एसपी बोहराले बताए।त्यसैले उनीहरूमाथि अमानवीय व्यवहार नभएको उनको भनाइ छ।
पहिला परिसरको भवन टेकुमा थियो। त्यहाँको भवनको भौतिक संरचना पुरानो र कारागारको मापदण्ड अनुसार थिएनन्। त्यसैले त्यहाँ थुनुवाहरूलाई भेट्ने ठाउँमा बार पनि थिएनन् तर भद्रकाली बनाइएको नयाँ भवन मापदण्ड अनुसारका बारहरू छन्।
'जुनसुकै व्यक्तिले पनि हिरासतमा भएका आफन्तलाई भेट्न आउँदा बार अगाडिबाटै कुरा गर्न दिने हो। पहिला हाम्रो नियम अनुसारको भौतिक संरचना नभएकाले नगरिएको हो। अहिले छ, कार्यान्वयन गरेका छौं,’ एसपी बोहराले भने, ‘उहाँहरूलाई कसरी राखिएको छ भनेर हेर्न विभिन्न व्यक्तिहरू आइरहेका छन्। त्योसँगै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत हेर्न आएका थिए।’
यसबारे मानव अधिकारकर्मीहरूलाई पनि सोध्न सक्ने एसपी बोहराले जानकारी दिए। 'बाहिरी रूपमा प्रहरी प्रसाशनमाथि जस्तो आरोप लगाए पनि हामीले कुनै पनि थुनुवामाथि भेदभाव गरेका छैनौं, यहाँ भएका सबैजना समान हुन्,' एसपी बोहराले भने।
राणा र मिश्र लगायत तीनकुने घटनामा हिरासतमा रहेकाहरूको अवस्थाबारे बुझ्नका लागि शुक्रबार मानवअधिकार आयोगकी उपसचिव मञ्जु खतिवडाको टोली परिसर पुगेको थियो।
खतिवडाले आफू अवलोकनमा गएको र अहिले रिपोर्ट लेखनको काम भइरहेको उनले बताइन्। 'अवलोकनमा गएका हौं, बाँकी अरू मैले केही बोल्न मिल्दैन,' उपसचिव खतिवडाले भनिन्, 'हामी प्रक्रिया पुगेपछि रिपोर्ट सार्वजनिक गर्छौं।'
चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो।
उक्त घटनामा २ जनाको ज्यान गएको थियो भने ४१ जनाविरूद्ध प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ।