गुरूङ भाषा नबुझ्ने मानिससँग मात्र नेपालीमा कुराकानी गर्ने गुरूङ गाउँ ताङतिङमा शनिबार साँझ स्थानीय सांस्कृतिक कार्यक्रम चल्दै थियो।
सांस्कृतिक कार्यक्रममा केही नेपाली र अधिकांश गुरूङ भाषाका गीत र नृत्य प्रस्तुत भइरहेका थिए। पोखरामा गुरूङ भाषामा सञ्चालित रोधी टेलिभिजनले ताङतिङमा ‘रोधी’ कार्यक्रम सञ्चालन गरिरहेको थियो।
यत्तिकैमा छुट्टै वेशभूषामा सजिएका युवायुवतीका टोली रोधी कार्यक्रममा प्रवेश गरे।
उनीहरूले हातमा लठ्ठी बोकेका थिए। एक जना युवकले मादल।
कार्यक्रम सञ्चालक बालकाशी गुरूङले नवलपुरको कावासोती–१० रतवलबाट थारू नृत्य ताङतिङ गाउँमा ल्याएको उद्घोष गरिन्।
रोधी कार्यक्रममा थारू नृत्य प्रस्तुत गर्न उनले चिलाहा–रतवल सामुदायिक ग्रामीण होमस्टेका टोलीलाई आग्रह गरिन्।
सभाहलमा स्थानीय भाषामा सञ्चालित रोधी कार्यक्रम चल्दै गर्दा दर्शक त्यति उत्साहित थिएनन्। जब रतवलका थारू नृत्य प्रस्तुत हुने उद्घोष भयो, हल खचाखच भरिए। हलमा अटाउन नसकेका युवाहरू ढोका र झ्यालबाट चिहाए। थारू नाचको समर्थनमा उनीहरूले बेजोड ‘हुटिङ’ गरे।
‘ताङतिङका युवाहरूले गुरूङ भाषाका गीत र नृत्यमा भन्दा हाम्रो थारू नाचलाई मन पराएर हुटिङ गर्नुभयो,’ नाच लिएर आएका होमस्टे अध्यक्ष नन्दप्रसाद महतोले भने, ‘गुरूङ गाउँमा थारू नाचले यति धेरै समर्थन पाउला भनेर सोचेका पनि थिएनौं।’
-1744025116.jpeg)
शनिबार साँझ सभाहलमा प्रस्तुत गरिएको थारू नाच आइतबार दिउँसो ताङतिङ चैत मेला २०८१ मा प्रस्तुत गरियो। हलमा भन्दा खुला ठाउँमा नाच्न पाउँदा थारू कलाकार हौसिएका थिए। स्थानीयले चाखपूर्वक नृत्य हेरिरहँदा छुट्टै अनुभूति भएको उनले बताए।
‘तराईबाट आएका सायद हामी मात्र थियौं। छुट्टै भूगोल र संस्कृतिले भरिपूर्ण ठाउँमा पनि हामीले आफ्नो संस्कृति देखाउन पायौं,’ उनले भने, ‘नवलपुरमा देखाउँदा सधैं उस्तै लागेको आफ्नै संस्कृति ताङतिङमा प्रस्तुत गर्दा अर्कै अनुभूति भयो।’
ताङतिङकी ६५ वर्षीय पूर्णकाशी गुरूङले जीवनमै पहिलो पटक आफ्नै गाउँमा थारू नाच देख्न पाएको बताइन्। गुरूङ गीत र संगीतमा भिजेकी पूर्णकाशीले थारू महिलाहरू हातमा लठ्ठी घुमाउँदै मादलको तालमा नाचेको देख्दा अनौठाले लागेको प्रतिक्रिया दिइन्।
‘हामीले पहिला यो नाच देखेका थिएनौं। हातमा डण्डा लिएर नाचेको देख्दा अचम्मै लाग्यो,’ उनले भनिन्, ‘मेला लागेका बेला कता कताका मान्छे आएर हाम्रो गाउँमा नाच देखायो।’
गुरूङ समुदायमा नाचिने नाच र थारू नाच नितान्त फरक रहेको पनि उनले सुनाइन्।
गुरूङ गाउँमा मादल मात्र बजाइँदैन, गीत पनि गाइन्छ भने नाच्ने टोली छुट्टै हुन्छ। गुरूङ गीतका बाजा र गीत अलि ढिलो हुने भन्दै उनले थारू नाच भने निकै छिटो भएको बताइन्।
‘हाम्रो गुरूङ गीतमा नाच्दा हातमा लठ्ठी लिने चलन छैन। बाजा बजाउने, नाच्ने र गीत गाउने टोली हुन्छ,’ उनले भनिन्, ‘थारू नाचमा हातमा लठ्ठी र बाजा पनि मादल मात्र बजाउने देखियो, गीत सुनिएन।’
ताङतिङ गाउँमा थारू नाच देखाउँदा बाजा बजाएका सागर महतोले पहाडमा पहिलो पटक नाच लिएर गएको अनुभव सुनाए।
नेपाल तराई पहाड र हिमाल मिलेर बनेको देश भन्दै उनले पहाडमा आएर थारू बाजा बजाउन पाउँदा गर्व लागेको बताए।
‘हामीले यहाँका गुरूङ नाच र संस्कृति हेर्न पायौं, हामीले हाम्रो संस्कृति देखायौं,’ उनले भने, ‘यहाँ आएर बाजा बजाउन पाउँदा आफ्नो संस्कृतिप्रति गर्व लागेको छ।’
हातमा लठ्ठी लिएर नाचेकी रेशमकुमारी महतोले आफू तराईमा जन्मिए, हुर्किएको भए पनि पहाड मन पर्ने बताइन्। पहाडको गुरूङ गाउँमा थारू नाच मानिसहरुले निकै चाख दिएर हेरेको उनले बताइन्।
‘हामीले कावासोतीमा थारू नाच देखाउँछौं, कावासोतीमा भन्दा यहाँका मानिसले एकदम उत्साहका साथ हाम्रो नाच हेर्नुभयो,’ उनले भनिन्, ‘यहाँ आएर नाच्न पाउँदा रमाइलो लाग्यो मलाई।’
थारू नाच लिएर पहिलो पटक पहाड उक्लिएका नन्दप्रसाद कावासोतीको जनता माविका शिक्षक हुन्। शिक्षकहरू विभिन्न माग राखेर राजधानी केन्द्रित आन्दोलन गरिरहँदा उनी भने गाउँको संस्कृति लिएर समुद्री सतहदेखि ११६५ मिटर उचाइमा रहेको गुरूङ गाउँ ताङतिङ उक्लिएका थिए।
-1744025116.jpeg)
ताङतिङ मेलामा थारू समुदायमा लोकप्रिय लाठी नाच, झर्रा नाच र जोगेडा नाच देखाइएको थियो। कावासोतीबाट ३२ जनाको सांस्कृतिक समूह लिएर ताङतिङ आएका नन्दप्रसादका अनुसार यी नाच थारू समुदायका सदावहार नाच हुन्।
चिलाहा–रनवल होमस्टेमा बास बस्न आउने पाहुनाका चाहना अनुसार उनीहरूले नृत्य प्रस्तुत गर्छन्। कहिलेकाहीँ मेलामहोत्सव, सरकारी तथा गैरसरकारी कार्यक्रम र चाडपर्वमा यस्ता नाच प्रस्तुत गर्ने गरेको उनले बताए।
नन्दप्रसादका अनुसार जोगेडा नाच थारू समुदायमा मानिस मर्दा वा त्यस्तै कार्यमा नाच्ने गरिन्छ। झर्रा नाच र लाठी नाच भने थारू समुदायले मनाउने चाड माघीमा प्रस्तुत गरिन्छ। लाठी नाचले थारू समुदायको युद्धकलाको कथा भन्ने उनले बताए।
‘हाम्रा पुर्खाले लाठी नाच नाच्दा कसैले ढुङ्गा हान्यो भने पनि लाठीले रोक्थ्यो, लाठीको बीचमा समातेर त्यति छिटो घुमाइन्थ्यो,’ उनले भने, ‘अहिले सांस्कृतिक प्रदर्शनमा नाच्दा त्यति छिटो लाठी चलाइँदैन।’
उनका अनुसार थारू समुदायमा यस्ता थुप्रै नाचहरू छन्। जुन, रामायण र महाभारतका कथासँग पनि जोडिएका छन्। जुन नाचहरू दिनभर वा र रातभर नचाउन सकिने नन्दप्रसादले बताए।
ताङतिङका गुरूङ समुदाय जसरी थारू नृत्य देखेर रमाएका थिए, त्यसैगरी नवलपुरबाट पुगेका थारू कलाकार पनि स्थानीय गुरूङ संस्कृतिमा चाख दिए।
‘हामीले हाम्रो संस्कृति त देखिरहेकै थियौं, नाचिरहेकै थियौं। यहाँ गुरूङ संस्कृति र नाच देख्न पाउँदा अत्यन्त रोचक लाग्यो,’ उनले भने, ‘जसरी यहाँका मानिस हाम्रो नाचमा रमाउनुभयो, हामी पनि यहाँको संस्कृतिमा घुलमिल भएर रमाउन पायौं।’
ताङतिङ गाउँ पुग्न उनीहरूले नवलपुरबाट एक दिनको बस यात्रा गरेका थिए। पोखराबाट उत्तरतर्फ लागेपछि आउने कच्ची बाटो र मादी नदीको किनारैकिनार उकालो लाग्दो पहाडको पनि कति भित्र लुकेको गाउँ रहेछ भनेका थिए।
‘बाटोमा आउँदा के होला यो गाउँ। बाटो त यस्तो भनेका थियौं, एकदम रमाइलो गाउँ रहेछ,’ उनले भने, ‘यहाँका मानिस मात्र होइन, रूखबिरूवा, झरना र हावापानी सबै फरक रहेछ।’
उनीहरूले ताङतिङमा नाच मात्र देखाएनन्, गाउँलेलाई कावासोती घुम्न निमन्त्रणा पनि दिए। थारू नाच मात्र नभएर कावासोतीमा थारूको रैथाने खाना, मध्यवर्ती वनमा गैंडा र पाटे बाघ देखिने भन्दै उनीहरूले गाउँलेलाई आकर्षित गर्न खोजे।
-1744025116.jpeg)
ताङतिङ होमस्टेका टोली यसअघि अध्यन अवलोकन भ्रमणका क्रममा कावासोती पुगेका रहेछन्। उनीहरूले कावासोतीको चिलाहा–रतवल होमस्टेमा थारू नाच हेर्नुका साथै आफूहरूले पनि गुरूङ गीतमा नाचेको होमस्टे सञ्चालक पुनम गुरूङ बताउँछन्।
कावासोतीका नन्दप्रसाद महतो होमस्टे महासंघ गण्डकीका अध्यक्ष छन् भने ताङतिङकी पुनम कोषाध्यक्ष छिन्। पुनम मादी गाउँपालिका २ ताङतिङको वडा सदस्यसमेत हुन्।
ताङतिङका रैथाने रहेका गण्डकी प्रदेश सांसद बेदबहादुर गुरूङ ‘श्याम’ले फरक भूगोल र संस्कृति भएका मानिसहरूबीच संस्कृति आदानप्रदानमार्फत् एकअर्कालाई बुझ्ने मौका मिलेको बताए।
‘हामीले प्रस्ताव गरेको छोटो समयमै नवलपुरबाट थारू नाच ताङतिङ ल्याउन सफल भयौं, उहाँहरू ताङतिङमा पाइला टेक्नु नै हाम्रो लागि ठूलो कुरा थियो,’ उनले भने, ‘थारू समुदायले जोगाएर राखेको संस्कृति ताङतिङ गाउँमा हेर्न पाउँदा मेलाको गौरव बढेको छ।’
नेपालको सांस्कृतिक विविधता एकले अर्कोलाई चिनाउन र बुझाउन यस्ता सांस्कृतिक आदानप्रदान प्रभावकारी हुन सक्ने उनले बताए। देशभित्र रहेका संस्कृतिलाई पर्यटनसँग जोडेर आदान प्रदान गर्न सके एकअर्कालाई बुझ्न पनि मदत पुग्ने उनको बुझाइ छ।
‘पहाडका बारेमा थारू समुदायले पनि यहाँबाट सिकेर जानुहुन्छ, हामीले पनि उहाँहरूबाट सिकेका छौं,’ उनले भने, ‘अनुभव र संस्कृति आदानप्रदान गर्दा नितान्त फरक समुदायका मानिसले पनि एकअर्काका भावना बुझ्न सक्छन्, आत्मीयता बढाउन सक्छन्।’
मेलामा थारू नाच विशेष आकर्षण भएकाले आगामी मेलाहरूमा पनि यस्ता सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने ताङतिङ युवा क्लबका अध्यक्ष हिमाल गुरूङले बताए।
मेलामा खेलाइएका खेल र देखाइका सांस्कृतिक कार्यक्रममा भन्दा पनि थारू समुदायको सांस्कृतिक कार्यक्रमले युवाको मन जितेको उनको अनुभव छ।
‘सांस्कृतिक आदानप्रदान गरौं भनेर थारू संस्कृति ल्याएका थियौं, यहाँका युवाले निकै मन पराए,’ उनले भने, ‘आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं।’
-1744025116.jpeg)
-1744025116.jpeg)