एमनेष्टि इन्टरनेसनलसहित चार वटा संस्थाले चैत १५ गते तीनकुनेमा भएको घटनाबारे अविलम्ब न्यायिक छानबिन गर्न अपिल गरेको छ।
एमनेष्टि इन्टरनेसनल नेपाल निर्देशक निराजन थपलिया, जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, एड्भोकेसी फोरम नेपालका निर्देशक विकास बस्नेत र न्याय तथा अधिकार संस्था (जुरी नेपाल) का अध्यक्ष रूकमणि महर्जनलले विज्ञप्ति अपिल गर्दै तीनकुने घटनामा न्यायिक छानबिन समिति बनाउन भनेका हुन्।
दुर्गा प्रसाईं नेतृत्वमा ३९ वटा राजसंस्था पुनर्स्थापना समूहको आयोजनामा चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शनपछि तोडफोड, आगजनी र लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो।
तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा प्रहरीले नै सार्वजनिक गरेको विवरण र समाचारहरूले आफूहरूलाई गम्भीर र चिन्तित बनाएको पनि उनीहरूले उल्लेख गरेका छन्।
‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्यहरू हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग “आवश्यक” र “समानुपातिक” थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन। त्यस घटनामा भएको बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ। नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको छ,’ अपिलमा भनिएको छ।
उनीहरूले यस्तो हिंसात्मक घटना पुन: दोहोरिन नदिन पनि आग्रह गरेका छन्।
यस्तो छ अपिल: