जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार बेलुका दुईपटक गएको भूकम्पले घरहरूमा क्षति पुर्याएको छ।
बेलुका ८:०७ बजे ५.२ म्याग्नेच्युडको भूकम्प गएपछि त्यसको तीन मिनेटपछि ८:१० बजे त्योभन्दा ठूलो तीव्रता ५.५ म्याग्नेच्युडको भूकम्प गएको थियो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले भूकम्पले केन्द्रविन्दु बनाएको कुशे गाउँपालिका र आसपाका क्षेत्रहरूमा घरहरू चर्किएको बताए।
भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्किएका थिए।
भूकम्पबाट ठूलो क्षति भने नभएको प्रजिअ मंग्रातीले बताए।
‘हिजो नै सबै पालिकाहरूसँग समन्वय गरेर बुझेका थियौं। घरहरू चर्केको भन्नेबाहेक धेरै क्षति भएको विवरण छैन,’ उनले भने।
भूकम्पले धेरे बेर नहल्लाएका कारण पनि ठूलो क्षति हुन नपाएको उनले बताए।
भूकम्प गएपछि राति नै जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको थियो।
बैठकले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको थियो।
त्यस्तै भूकम्पपछि मानसहरू घरबाहिर निस्केका कारण उनीहरुको घरमा चोरी हुन सक्ने सम्भावनालाई पनि मध्येनजर गर्दै प्रभावित वस्तीहरूमा प्रहरीको गस्ती बढाउने निर्णय गरेको प्रजिअ मंग्रातीले जानकारी दिए।
भूकम्पको धक्का छिमेकी जिल्ला रूकुम पश्चिम, सल्यानसम्म धक्का महसुस भएको थियो। रूकुम पश्चिममा घरको एक तलामाथिबाट हामफालेका दुई जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।