तनहुँको डुम्रे–बेँसीसहर सडक खण्डमा बस पल्टिँदा २० जना यात्रु घाइते भएका छन्।
शुक्रबार डुम्रे बजारबाट लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग १ ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिँदा २० जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, अन्य १६ जना घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ।
घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको डिएसपी थापाले बताए।
'गाडी साहु र चालकको खोजि भइरहेको छ,' उनले भने, 'कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ।'