बाँकेमा एक जनाको हत्या भएको छ।
कोहलपुर नगरपालिका-७ का नेपाली कांग्रेसका वडा उपसभापति ३९ बर्षीय दुर्गाबहादुर पुन मगरको लाठी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार पूर्व वडासदस्य समेत रहेका मगरको स्थानीय रजगडवास्थित झुलुङ्गे पुलमा लठ्ठी प्रहार गरी बिहीबार राति हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।
उनको हत्या आरोपमा प्रहरीले कोहलपुर-४ का २३ वर्षीय राजु सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
'बिहीबार दिउँसो मगरले सुनारलाई चुरोट नखान भनेर सम्झाउँदा विवाद भएको थियो। सोही विषयलाई लिएर हत्या गरिएको आशंका छ,' एसपी कार्कीले भने।
यस घटनामा अन्य व्यक्तिहरूपनि संलग्न भएको शंका गरिए पनि मगरले आफू एक्लैले आक्रमण गरेको प्रहरीलाई बयान दिएका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशम पौडेलले पनि बिहीबार दिउँसो मगर र सुनारबीच झगडा परेको पुष्टि गरेका छन्।
‘मगरले दुई थप्पड हानेको सुनारको दाबी छ,’ इन्स्पेक्टर पौडेलले भने ‘तर मगरका आफन्तले भने सम्झाइबुझाइ गर्न खोज्दा सुनार आफै पहिला झगडामा उत्रिएको बताएका छन्। हामी अनुसन्धान गर्दैछौं।'
मगरलाई मोटरसाइकलसहित लडेको देखेपछि स्थानीयले दुर्घटनामा परेको आशंका गरेर अस्पताल पुर्याएको इन्स्पेक्टर पौडेलले जानकारी दिए।
उनका अनुसार अस्पताल पुर्याउनसाथ मगरलाई मृत घोषित गरिदिएको हो। टाउकोमा चोटपटक लागेको देखेपछि प्रहरीलाई खबर आएको थियो। अनुसन्धान गर्दैजाँदा लठ्ठीले हान्दा चोट पुगेर मृत्यु भएको खुल्यो।
दिउँसो झगडा भएपछि सुनार झोलुङ्गे पुल नजिकै कुरेर बसेको र उनलाई देख्नसाथ लठ्ठी प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
यस घटनामाथि नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौंडेलले विज्ञप्ति जारी गर्दै छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन गर्न माग गरेका छन्। उनले भने मगरमाथि सामूहिक हत्या भएको उल्लेख गरेका छन्।