अघिल्ला दुई दिनको तुलनामा शुक्रबार काठमाडौंमा सिरसिर हावा चलिरहेको छ। यसले एक सातादेखि ह्वात्तै बढेको प्रदूषणको मात्रा घटेको वातावरण विभागले जनाएको छ।
'बिहानैदेखि मन्दमन्द चलिरहेको हावाको गति मध्याह्नपछि केही बढेको छ। यसले वायुमण्डलको तल्लो तहमा रहेको धुवाँ–धुलोका कणहरू उडाएर लगेको छ,' वातावरण विभागका उपमहानिर्देशक शैलेन्द्रकुमार झाले सेतोपाटीसँग भने।
प्रदूषण घट्नुको अर्को कारण पनि छ।
शुक्रबार काठमाडौं उपत्यकाको मौसम सफा छ। बिहानीपख आकाशमा फाट्टफुट्ट बादल देखिए पनि मध्याह्नपछि आकाश सफा भएको थियो।
बादल लाग्दा राम्रोसँग हावा नबहने हुँदा धुवाँ–धुलो वायुमण्डलमै थुप्रिएर रहन्छ। तर शुक्रबार बिहानैदेखि घाम लागेकाले तल्लो वायुमण्डलमा रहेको धुवाँ–धुलो उडेर माथिल्लो वायुमण्डलमा पुगेको मौसमविद् शान्ति कँडेल बताउँछिन्।
यसबाहेक अर्को कारण पनि छ।
एक सातायता चुरे क्षेत्रमा व्यापक आगलागी भइरहेको छ। हावाले त्यहाँबाट धुलोका कणहरू ल्याएर काठमाडौं उपत्यकाको वायुमण्डलमा थुपारेको थियो। शुक्रबार भने तराई क्षेत्रबाट धुलो–धुवाँका कणहरू खासै आएका छैनन्। हावाको गति बढ्दा काठमाडौं उपत्यकाको वायुमण्डलमा थुप्रिएर रहेको धुवाँधुलो पनि केही मात्रामा उडाएर लगेको झाले बताए।
तर उपत्यका आसपासका जिल्लाहरूमा डढेलो लागिरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना रहेको उनले औंल्याए।
'हिउँद सुख्खै रह्यो। आगलागीको घटना बढेको बढ्यै छन्। तत्काल ठूलो पानी पर्ने सम्भावना नदेखिएकाले प्रदूषण घट्ने स्थिति देखिँदैन,' उनले भने।
पछिल्लो एक घन्टामा दाङ देउखुरीको वायु शुद्धता सूचकांक (एक्युआई) ३०६ पुगेको छ, जुन खतरनाक तह हो। काठमाडौंको शंखपार्कको एक्युआई १६२, रत्नपार्कको १४९, खुमलटारको १४६, भैंसेपाटीको १३२, भक्तपुरको १०७ छ।
वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१– १०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ।
काठमाडौंको हावाको गति बिहीबारको तुलनमा केही बढेको छ। रत्नपार्कको पछिल्लो एक घन्टाको हावाको गति ३.६१ मिटर प्रतिसेकेन्ड छ। शंखपार्क क्षेत्रमा भने ०.७ मिटर प्रतिसेकेन्ड छ। खुमलटार क्षेत्रको ४.९ मिटर प्रतिसेकेन्ड छ।
काठमाडौं उपत्यकाको विषाक्त बनिरहेको वायु प्रदूषणबारे थप बुझ्न काठमाडौंको अवस्थिति बुझ्नुपर्छ। यहाँको भूबनोट र जलवायु प्रणालीबारे पनि थाहा पाउनुपर्छ।
हामीले खाल्डोको संज्ञा दिँदै आएको काठमाडौं उपत्यका साँच्चै नै कचौरा आकारकै छ। वरिपरि जंगलै जंगलले ढाकेको अग्लाअग्ला पहाड, बीचमा खाल्डोजस्तो भूबनोट; यस्तोमा बाहिरबाट आउने हावा यिनै पहाडले छेक्छन्। काठमाडौंमा हावा पस्ने तीनवटा बाटा रहेको त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रमा लामो समय अध्यापन गरेका प्राध्यापक रामप्रसाद रेग्मीले बताएका छन्।
उनका अनुसार एउटा काठमाडौं उपत्यकामा चोभार हुँदै बागमती नदीले बनाएको गल्छी भएर नैऋत्य (दक्षिण–पश्चिम) कोणबाट हावा पस्छ।
अर्को पश्चिम कोण; चन्द्रागिरि र नागार्जुनको बीच थानकोट/भीमढुंगा भञ्ज्याङबाट हावा काठमाडौं छिर्छ। तेस्रो वायव्य कोण (उत्तरपश्चिम) नागार्जुन–ककनीबीचको मुड्खु भञ्ज्याङ र तीनपिप्ले हुँदै काठमाडौं पस्छ।
यिनै बाटो भएर काठमाडौं खाल्डो पस्ने हावाले यहाँको वायुमण्डलको धुलो–धुवाँ पखालेर सफा तुल्याउने हुन्। उपत्यकाको हावामा फैलिएर रहेको धुलोमुलो उडाएर डाँडा कटाउने यिनै हावा प्रणालीले हो।
खासगरी बागमती गल्छी भएर आउने दक्षिणी हावा र थानकोट/भीमढुंगा भएर भित्रिने पश्चिमी हावा प्रणाली काठमाडौंमा सक्रिय हुने उनले बताए।
यहाँनिर विचारणीय कुरा के छ भने दक्षिणी र पश्चिमी हावा बिहान साढे ११ बजेतिर मात्र काठमाडौं उपत्यका प्रवेश गर्छन्। त्यतिञ्जेल काठमाडौं उपत्यकाको वायुमण्डलमा धुवाँ–धुलो भरिसकेको हुन्छ। बिहानैदेखि गुड्ने सवारी साधन र निर्माण क्षेत्रबाट उड्ने धुलोले यहाँको वायुमण्डलमा साम्राज्य खडा गरिसक्ने रेग्मीले बताए।
त्यसो त, राभरि चिसो बढ्ने हुँदा माथिल्लो वायुमण्डलतर्फ बढेको धुलो–धुवाँका कण तल झरिसकेका हुन्छन्। बिहानको घामले तराई र धादिङको हावा नताती ती काठमाडौं भित्रँदैनन्।
काठमाडौं भित्रिएर यी हावा प्रणाली आपसमा मिसिएपछि उपत्यकाको पूर्वतिर लाग्छन्। यो हावाको वेग लगभग ४ देखि ५ मिटर प्रतिसेकेन्ड हुन्छ।
'१२ बजेसम्ममा घाम लागेको दिन उपत्यकाको मौसम तातिसकेको हुन्छ। हावा स्थिर भए पनि त्यो तातेपछि प्रदूषण बोकेर माथि उठ्न थाल्छ। पूर्वतिर बग्दै गरेको पश्चिम र दक्षिणबाट आएको हावाले उपत्यकाको प्रदूषण पनि बोकेर जान्छ। करिब १ बजेतिर काठमाडौंको प्रदूषण हावाले बनेपातिर उडाएर लैजान्छ,' उनी भन्छन्।
त्यसैले १२ देखि १ बजेको समय काठमाडौं उपत्यकाभित्र प्रदूषण कम हुने समय मानिन्छ।
प्रत्येक दिन करिब ७५ प्रतिशत प्रदूषण मात्रै बनेपामा फ्याँक्न सक्छ उपत्यकामा दिउँसो चल्ने हावाले। २५ प्रतिशत भने उपत्यकाभित्रै बस्छ। यसरी प्रत्येक दिन थुप्रँदै जाने धुलो–धुवाँ उपत्यकाको वायुमण्डल विषाक्त बन्नुको कारण हो।
दिन ढल्कँदै जाँदा पश्चिम र दक्षिणबाट आउने हावाको गति कमजोर हुँदै जान्छ। ६ बजेसम्ममा यो गति प्रतिसेकेन्ड १ मिटरमा झरिसकेको हुन्छ। त्यसपछि यो कमजोर हावा प्रणाली उपत्यकाभित्रै घुमेर बस्न थाल्छ। साँझ यो हावा प्रदूषण बोकेरै भैंसेपाटी, लुभु, भक्तपुर–खरिपाटी, डाँछी, बौद्ध, बालाजु हुँदै घडीको सुईको उल्टो दिशामा उपत्यकाभित्र घुमेर बस्छ।
साँझ ८ बजेसम्म उपत्यकाको हावा प्रणाली लगभग स्थिर भइसकेको हुन्छ। हावा नै शेष हुने भने होइन। करिब ०.५ मिटर प्रतिसेकेन्डको गतिमा यो बग्छ। यति धिमा गतिमा बगेपछि त्यसले प्रदूषण बाहिर फ्याँक्न सक्दैन। धुलोधुवा वायुमण्डलमै तैरिएर बस्छ।
काठमाडौंमा भित्रिने हावाको फरक–फरक तापक्रम पनि उपत्यकाको खराब हावापानीको अर्को कारक हो।
बागमती गल्छी हुँदै भित्रिने हावा थानकोट–भिमढुंगाबाट भित्रिने हावाभन्दा चिसो हुन्छ। तराई क्षेत्र काठमाडौंबाट धादिङको तुलनामा धेरै होचो छ। तराईको सतहबाट माथि उठ्दै काठमाडौं छिर्दा त्यो हावा धादिङबाट छिर्ने हावाभन्दा चिसो भइसकेको हुन्छ।
'चिसो र तातो हावा फरक फरक सतह बनाएर वायुमण्डलमा बस्छन्। बागमती गल्छीबाट आएको हावा सबभन्दा तल बस्छ, थानकोट–भीमढुंगाबाट आएको अलिक तातो हावा त्योभन्दा माथि बस्छ। त्यसपछि फुलचोकी, नागार्जुन डाँडाभन्दा माथि झनै स्थिर हावाको सतह बस्छ। यी फरक–फरक हावाका सतहले उपत्यकामा प्रदूषण थिचेर राख्न भूमिका खेल्छ,' रेग्मीले भने।
यो त भयो हिउँद यामको कुरा। बर्खा याममा भने हावाको दिशा फरक हुन्छ।
मौसमविद् शान्ति कँडेलका अनुसार हिउँद याममा काठमाडौं उपत्यकामा पश्चिम क्षेत्रबाट हावा प्रवेश गर्छ। मनसुन याममा भने पूर्वी दिशाबाट हावा आउने गर्छ।
मनसुन याममा पर्याप्त पानी पर्ने हुँदा वायु अस्वस्थकर हुन पाउँदैन। धुलो नउड्ने तथा वायुमण्डलमा उडेर पुग्ने धुवाँका कणहरूलाई पानीले पखाल्ने हुँदा त्यति बेला प्रदूषण बढ्न पाउँदैन।