दाङको तुलसीपुर उपमहानगरपलिका-१२ टरिगाउँका अनील चौधरी बुधबार बेलुकी ग्वारखोलामा बालुवा निकाल्दै थिए। उनी रा १ त ४०२३ नम्बरको ट्याक्टर चलाउँछन्। त्यही ट्याक्टर लिएर उनी बुधबार बेलुका ग्वारखोला किनार पुगेका थिए।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रहरीहरू असइ सञ्जय गिरी र हवल्दार बिनोद रेउले नगरकै लु.प्र . २ ००१ ब ००१८ मोटरसाइकलमा त्यही बाटो भएर निस्किएका थिए।
ग्वारखोलामा अवैध उत्खनन् भइरहेको देखेपछि उनीहरूले ट्याक्टर र त्यसका चालक अनील चौधरीलाई नियन्त्रणमा लिए र कार्यालयतिर लैजान लागे।
ट्याक्टरका धनी उनकै वडाका बिसर्जन बुढामगर रहेछन्। नगरप्रहरीले नियन्त्रणमा लिएपछि अनीलले बिसर्जनलाई सम्पर्क गरी घटनाको जानकारी दिएका थिए।
उपमहानगरको कार्यालय जाँदै गर्दा टरिगाउँ विमानस्थलबाट दक्षिणतर्फको सडकमा एक हुल मानिसहरू ट्याक्टर छेक्न आइपुगे। त्यही हुलमा ट्याक्टर धनी बिसर्जन पनि थिए।
उनीहरूले ट्याक्टर छाड्न नगरप्रहरीलाई धम्क्याए। त्यसो गरेपछि विवाद सुरू भएको थियो। नगर प्रहरीहरूले अवैध उत्खनन् गर्दागर्दै ट्याक्टर नियन्त्रणमा लिइएकाले छाड्न नमिल्ने भनेपछि ट्याक्टर धनी बिसर्जनले खुँडा निकालेका थिए।
नगर प्रहरी दुई जना मात्रै थिए। बिसर्जनले खुँडा नचाउन थालेपछि उनीहरू अतालिए र ट्याक्टर छाडेर मोटरसाइकल चढेर त्यहाँबाट हिँडे। बिसर्जनसहितका युवाहरु पनि मोटरसाइकलमा आएका थिए।
नगर प्रहरीहरू ज्यान जोगाउन भाग्ने क्रममा उनीहरुको मोटरसाइकल सडकमै पल्टियो। पल्टिएको मोटरसाइकल त्यहीँ छाडेर उनीहरू पैदल भागेका थिए।
तुलसीपरका मेयर टीकाराम खड्काको सचिवालयका सबिन केसीले अनुसार मोटरसाइकल पल्टिँदा गिरीलाई टाउकोमा र रेउलेलाई हात र खुट्टामा चोट लागेको छ। अहिले उनीहरुको अवस्था अहिले सामान्य छ।
केसीका अनुसार ग्वारखोलामा अबैध उत्खनन् भएकोबारे तुलसीपुर – १६ का वडाध्यक्ष शिवानन्द डाँगीले नगर प्रहरीलाई सूचना दिएका थिए। डाँगी तुलसीपुर उपमहानगरपालिकाको प्राकृतिक स्रोत साधन उपसमितिका सदस्य पनि हुन्। तर नगर प्रहरीले नजिकै रहेको इलाका प्रहरी कार्यालयसँग समन्वय नगरी खोलामा पुगेका थिए।
खुँडा प्रदर्शन गरेपछि उनीहरू ज्यान जोगाउन मोटरसाइलकल नै छाडेर भागेका थिए। उनीहरूले छाडेको मोटरसाइकल बेलुकैसम्म पनि सडकमै थियो । नगर प्रहरीहरू भागाभाग भएपछि इलाका प्रहरीको टोली घटनास्थल पुगेको थियो।
ट्याक्टर चालक अनील चौधरीलाई बिहीबार मात्रै प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्याक्टर धनी भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनील ठकुरीले बताए। बिसर्जन कांग्रेसको तुलसीपुर-१२ को वडा सचिव पनि हुन्।
मेयर टीकाराम खड्काले ट्रयाक्टर धनी मगरलाई छलफलका लागि बोलाइएको भए पनि उनी नआएको बताए ।
‘मगरले खुँडा नचाउन थालेपछि नगर प्रहरी ज्यान जोगाउन भाग्नु परेको रहेछ,’ उनले भने ‘भाग्दै गर्दा मोटरसाइकल दुर्घटनामा परी नगर प्रहरीलाई चोट पटक लागेको हो।’
नगर प्रहरी आत्तिएर ज्यान जोगाउन भाग्दै गर्दा आफै लडेर चोट पटक लागेको हुँदा एक पटक मगरलाई बोलाएर छलफल गरी समस्या समाधानको प्रयास हुने र उनी नआए सार्वजनिक मुद्दा चलाएर कानुनी कारबाही थालिने मेयर खड्काले बताए।
घटनापछि फरार रहेका मगरको खोजी जारी रहेको प्रहरीले बताएको छ।