केही दिनयता हामी आँखा-नाक पोल्ने, घाँटी खस्खसाउने समस्याले ग्रस्त छौं। रूघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल जानेहरूको संख्या पनि बढेको छ। कतिपयलाई छालासम्बन्धी रोग देखापरेका छन् भने कतिलाई धुलो र धुवाँको एलर्जीले पिरोलेको छ।
यी सबै स्वास्थ्य समस्या वायु प्रदूषणले निम्त्याएका हुन्।
एक सातायता काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा प्रदूषणको मात्रा हानिकारक तहमा पुगेको छ। हामीले सास फेर्ने तल्लो वायुमण्डल धुलोधुवाँले भरिएको छ। हावामा आँखाले ठम्याउन नसकिने हानिकारक रसायनयुक्त कणहरू थुप्रिएका छन्। ती हानिकारक कण हामीले सास फेर्दा सिधै फोक्सोमा पुग्छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ। श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन बिरामीहरूलाई त मृत्युकै मुखमा धकेल्छ।
सबभन्दा पहिला हावामा प्रदूषणको मात्रा के-कस्तो छ, त्यो हेरौं।
हावामा हुने प्रदूषणका कण 'पार्टिकुलेट म्याटर' (पिएम) मा नापिन्छ। यो धूलोका कणको आकार हो। यसलाई सामान्यतया दुई इकाईमा नाप्ने चलन छ। एउटा पिएम–२.५ र अर्को पिएम–१० मा।
पिएम–२.५ भनेको २.५ माइक्रोमिटर र पिएम–१० भनेको १० माइक्रोमिटरसम्मका धूलोका कण हुन्।
यी कण कति मसिना हुन्छन् भन्ने बुझ्न हाम्रो कपालको मोटाइसँग तुलना गरौं। कपालको सामान्य मोटाइ ७० माइक्रोमिटर हुन्छ। यही आधारमा २.५ माइक्रोमिटर भनेको कति सूक्ष्म हो भन्ने सहजै अन्दाज गर्न सकिन्छ। यसलाई आँखाले देख्न सकिन्न। यी कण हाम्रो नाकका रौंले छेक्न नसक्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन्। त्यही भएर प्रत्येक साससँगै हामी धूलोका कण पनि फोक्सोमा हुलिरहेका हुन्छौं।
यस्ता कण खासगरी रसायनबाट उत्पन्न हुन्छन्। निर्माणस्थल, धुलाम्मे सडक, खेतबारी, आगो बालिएको वा धुँवा निस्किरहेको ठाउँमा बढी सक्रिय हुन्छन्। हावामा उड्दै गर्दा यस्ता कण पावर प्लान्ट, सवारीसाधन तथा उद्योगबाट निस्कने सल्फर–डाइ–अक्साइड र नाइट्रोजन–अक्साइडजस्ता ग्याससँग मिसिन्छन्। त्यसपछि स्वास्थ्यका निम्ति झनै हानिकारक हुन्छन्। पिएम–१० भन्दा साना कण अझ खतरनाक मानिन्छन्, किनकि यी सिधै फोक्सो र रक्तप्रणालीसम्म पुग्छन्।
हावामा हुने यी कणको न्यूनतम मात्रा देश र सहरको अवस्थाअनुसार फरक हुन्छ। काठमाडौंको न्यूनतम मापदण्ड पिएम–२.५ मा नाप्दा ४० मिलिग्राम प्रतिघनमिटर र पिएम–१० मा नाप्दा १२० मिलिग्राम प्रतिघनमिटर निर्धारण गरिएको छ।
यो आँकडामा थोरै अंक बढ्नु पनि प्रदूषणस्तर जटिल बन्दै गएको सूचक हो।
अब हामी पछिल्लो २४ घन्टामा देशका विभिन्न सहरको हावाको अवस्था हेरौं।
वातावरण विभागका अनुसार शुक्रबार बिहान काठमाडौंको शंखपार्कको पिएम–२.५ पछिल्लो २४ घन्टा अवधिमा १९४.७ मिलिग्राम प्रतिघनमिटर छ। त्यस्तै, रत्नपार्कको १५२, ललितपुर खुमलटारको १५४.९ र ललितपुर भैंसेपाटीको १२९.३, दाङ छ।
काठमाडौं बाहिरको अवस्था हेर्दा धनगढीको १५६.९, दाङ देउखुरीको १४८.८, अछामको ६७.१, इलामको ४१.७, राराको ४०.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको वातावरण विभागले जनाएको छ।
पिएम–१० को अवस्था पनि उस्तै विकराल छ।
काठमाडौं शंखपार्कमा ३१५.५ मिलिग्राम प्रतिघनमिटर छ भने रत्नपार्कमा २४६.२, भक्तपुरमा ८८०.३, ललितपुर खुमलटारमा २९९ र ललितपुर भैंसेपाटीमा १४९ छ। त्यस्तै, धनगढीमा ३१४.६, दाङ देउखुरीमा २००.७, अछाममा १४३.४, इलाममा ६३.९, रारामा ६२.९ मिलिग्राम प्रतिघनमिटर छ।
यी तथ्यांक खतराको तहभन्दा निकै माथि हुन्।
बुधबार र बिहीबारको तुलनामा शुक्रबार काठमाडौं उपत्यकाको हावाको गति केही मात्रामा बढेको छ। मौसमविद् डेबिड ढकालले हावाको गति बढेसँगै वायु प्रदूषण केही घटेको बताए। तर यो अल्पकालीन सुधार मात्र हो।
अब प्रश्न उठ्छ — काठमाडौं उपत्यकासहित देशभरको वायुमण्डल कसरी विषाक्त बन्यो?
यसका धेरै कारण छन्।
वातावरणविद् भूषण तुलाधरका अनुसार हामीले सास फेर्ने हावा दुइटा कारणले प्रदूषित भइरहेको छ।
पहिलो हो, मानवीय कारण। हामी आफ्नै गतिविधिले अनिष्ट निम्त्याइरहेका छौं।
अहिले देशभर झन्डै तीन सय ठाउँमा डढेलो लागेको छ। नासाको फायर इन्फरमेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टमले उपलब्ध गराएको स्याटलाइट तस्बिरबाट पनि नेपालमा डढेलोको विकराल अवस्था ठम्याउन सकिन्छ।
![FIRMS_24hrs[@85.8,27.1,6.6z]-1743745223.jpg](https://www.setopati.com/uploads/posts/FIRMS_24hrs[@85.8,27.1,6.6z]-1743745223.jpg)
गृह मन्त्रालयको तथ्यांक हेर्ने हो भने चैत १५ देखि २२ गतेसम ३३३ वटा आगलागीका घटना भएका छन्। धेरैजसो वन डढेलो छन्। यसबाट ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। त्यस्तै, ३१ संरचना जलेका छन् भने २८ पशु चौपायाको ज्यान गएको छ।
गत वर्ष पनि वन डढेलो अनियन्त्रित बनेको थियो।
यसको मुख्य कारण के भने, पछिल्लो समय तीव्र आन्तरिक बसाइँसराइ, पाखो जमिनहरूमा खेतीपाती नहुनु र पशुपालन घट्नुले जंगलको घनत्व बढेको छ। जंगलहरू बस्तीसम्म जोडिन आइपुगेका छन्। वन क्षेत्रमा पातपतिंगर, सुकेका रूखबिरूवा लगायत सजिलै आगो सल्किने वस्तुहरू थुप्रिएर बसेका छन्। सानो झिल्कोले पनि ठूलो डढेलो सल्काउँदै आएको छ। कतिपय ठाउँमा त पानी पर्न थालेपछि मात्र डढेलो नियन्त्रणमा आएका उदाहरण छन्।
हिउँद याम सुख्खा भएकाले यस वर्ष पनि डढेलोको समस्या विकराल बन्ने भनेर विज्ञहरूले चेतावनी दिइसकेका थिए।
'यसबीच हामीले जंगलका पातपतिंगर हटाउने, सामुदायिक वन उपभोक्तासँग मिलेर डढेलो रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्नेमा त्यसो गरेको देखिएन,' वातावरणविद् भूषण तुलाधरले भने, 'त्यही कारणले डढेलो देशव्यापी बनेको छ। यसले वायु प्रदूषणमा विकराल बन्न सघाउ पुर्याइरहेको छ।'
डढेलो विकराल बन्न सघाउने अर्को तत्त्व पनि छ।
मध्य-पहाड र पहाडी क्षेत्रमा मकै लगायतका बाली लगाउने बेला भएको छ। मनसुनपूर्व र प्रिमनसुनको समय पानी परेकाले किसानहरूले खेतबारीमा जिलौटा (कृषि अवशेष) हरू पोल्ने र बाली लगाउन माटो तयार गर्ने काम गर्छन्। कतिपय ठाउँमा यसैबाट आगो सल्किन्छ।
नसल्किएका ठाउँमा पनि कृषि अवशेषहरू जलाउँदा निस्किने धुवाँ वायु प्रदूषणको स्रोत बनेको तुलाधरले बताए।

एक साता अवधिमा देशभर डढेको स्थिति। तस्बिरः विपद् पोर्टल
वायु प्रदूषणको अर्को महत्त्वपूर्ण स्रोत सडक निर्माण हो।
अहिले काठमाडौं उपत्यकाभित्र धमाधम विद्युत लाइन भूमिगत गर्ने, खानेपानी पाइप बिछ्याउने, खानेपानी चुहावट रोक्न सडक भत्काउने काम चलिरहेको छ। चक्रपथ लगायत सडक खण्ड विस्तार क्रममा छन्।
त्यस्तै, काठमाडौं जोड्ने सातैवटा राजमार्ग सद्दे छैनन्। कान्ति लोकपथ, पृथ्वी राजमार्ग, बिपी, सूर्यविनायक–धुलिखेल, थानकोट–चित्लाङ, दक्षिणकाली–हेटौंडा लगायत सबै सडक मर्मत र विस्तार क्रममा छन्।
ती सडकबाट बुङ्बुङ्ती धुलो उडिरहेका छन्। यसले वायुमण्डलमा पिएम—१० को मात्रा बढाउन उल्लेख्य भूमिका खेलिरहेको छ।
वातावरणविद्हरूका अनुसार काठमाडौं उपत्यका कचौरा आकारको छ। यहाँको वायुमण्डलमा रहेको धुवाँ, धुलो हट्न कि ठूलो पानी पर्नुपर्छ, कि ठूलो हावा चल्नुपर्छ। दुवै नहुँदा तल्लो वायुमण्डल धुँवा, धुलोको तहले भरिन्छ।
मौसमविद् शान्ति कँडेल त अहिले काठमाडौंले धुवाँ र धुलोको ब्ल्यांकेट ओढिरहेको बताउँछिन्। यसो हुनुमा सवारी साधनको चाप पनि उत्तिकै दोषी छ।
बागमती प्रदेशमा मात्रै १८ लाख सवारी साधन दर्ता छन्। तीमध्ये दुईतिहाइ काठमाडौं उपत्यकाभित्रै छन्। त्यसको आधा मात्र दिनहुँ गुड्ने हो भने पनि ६ लाखभन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाभित्र नियमित गुड्छन्।
यसमध्ये २० प्रतिशत अर्थात् १ लाख २० हजारभन्दा बढी सवारीले धुवाँको मुस्लो फाल्छन्। ती २० प्रतिशत थोत्रा गाडीले निकाल्ने धुवाँले ५० प्रतिशत वायु प्रदूषणको हिस्सा ओगट्ने वातावरणविद् तुलाधरको भनाइ छ।
यसमा पनि उनी सरकारी निकायकै कमजोरी देख्छन्।
सवारी साधनले फाल्ने धुवाँको गुणस्तर जाँचेर हरियो स्टिकर दिने प्रबन्ध गरिएको छ। २० वर्षभन्दा पुराना साधन विस्थापित गर्ने योजना पनि छ। तर यी सबै अलपत्रै अवस्थामा छन्।
'काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, वातावरण विभाग, यातायात व्यवस्था विभाग, उपत्यका ट्राफिक कार्यालय आदिले सवारी साधनको प्रदूषण जाँचपास गरेर हरियो स्टिकर दिने गरेका थिए। यसलाई नियमित र व्यवस्थित तुल्याएको देखिँदैन। यसले सवारी साधन धुवाँ फाल्दै निर्वाध गुडिरहेका छन्। यस्ता डिजेल गाडीहरूले निकाल्ने हानिकारक धुवाँ क्यान्सर रोगको स्रोत बन्न सक्छन्,' तुलाधरले भने।
सवारी साधन नवीकरण गर्दा प्रदूषण जाँचपास गर्नेबाहेक नियमित तुल्याउन नसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।
'काठमाडौं, ललितपुर महानगरपालिका, वातावरण विभागले सवारी साधनको प्रदूषण जाँच गर्दै आएका छन्। नियमित गर्न नसकिएको साँचो हो। त्यसले सवारी साधनहरूले कालो धुवाँ फालिरहेका हुन्छन्,' गिरीले भने।
तुलाधर सवारीधनी पनि यसमा सचेत हुनुपर्ने बताउँछन्।
'आफ्नो सवारी साधनले धुवाँ फालिरहेको छ भने नियमित सर्भिसिङ गर्ने, मर्मत गर्ने बानी बसाल्नुपर्छ। हाम्रै प्रयासले वातावरणमा स्वच्छता कायम गर्न सकिन्छ,' उनले भने।
अझ डरलाग्दो कुरा त, सहरी फोहोर व्यवस्थापन गर्न जलाउने गरिएको छ। फोहोर जलाउँदा कार्बन-डाइ-अक्साइड, कार्बन-मोनोअक्साइड, ब्ल्याक कार्बन, मिथेन, सल्फर-डाइ-अक्साइड, एमोनियाजस्ता ग्यास उत्सर्जन हुन्छन्। यसले वायुमण्ड विषाक्त बनाउँछ।
यी त भए हाम्रै कारणले निम्त्याइरहेको वातावरणीय संकट। अर्को मौसमी कारण पनि छ।
यसपटक एक-दुई भर पानी परेर हिउँद सकियो। प्रि-मनसुनको सुरूआतमा एक-दुई झर पानी पर्यो। तर काठमाडौं उपत्यकामा उल्लेख्य वर्षा नभएकाले वायुमण्डलमा तह बनेर बसेको धुवाँ–धुलो पखालिन सकेको थिएन।
अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेत सक्रिय नहुँदा मंगलबारसम्म पानी पर्ने छाँट नदेखिएको मौसमविद् शान्ति कँडेलले बताइन्।
उनका अनुसार काठमाडौंमा मंगलबार हल्का वर्षाको सम्भावना देखिएको छ। त्यो पनि उल्लेख्य होइन, एक–दुई मिलिमिटरको मात्रै सम्भावना छ।
ठूलो हावा पनि नचल्ने र पानी पनि नपरेको कारणले वायुमण्डल विषाक्त बन्दै गइरहेको छ। वायुमण्डलमा धुलो र धुवाँको मात्रा बढेकाले घामको किरण पनि त्यसैले सोसेको कँडेलले बताइन्। त्यसले घाम चर्कन पनि सकेको छैन।
बिहान–बेलुका चिसो हुने हुँदा वायुमण्डलमा रहेको धुवाँ–धुलो अझै तल आउँछ। त्यसैले बिहान–बेलुकाको वायु झनै अस्वस्थकर हुन्छ। दिउँसो घाम चर्कन नसक्दा धुलो–धुवाँका कण उडेर माथि जान नसकेको र ब्ल्यांकेट ओढेर बसेजस्तो बन्न पुगेको उनले बताइन्।
अर्का मौसमविद् विनोद पोखरेलले पनि वायु प्रदूषण घट्न अर्को साता नै पर्खनुपर्ने बताएका छन्।
'अर्को साता मंगलबार-बुधबारदेखि पानी पर्ने सम्भावना छ। यसले प्रदूषण घटाउन मद्दत गर्ला,' विभिन्न मोडल अध्ययन गर्दै वर्षा प्रक्षेपण गर्ने उनले भने।
यसरी विषाक्त वायुका कारण स्वास्थ्य संकटकै अवस्था निम्तिइरहेको छ। दीर्घकालीन फोक्सोसम्बन्धी रोगको जोखिम बढिरहेको छ। यस्तो जोखिमको सम्भाव्यता ७५ प्रतिशतसम्म छ।
यस अतिरिक्त मुटुसम्बन्धी, मष्तिस्कघात, निमोनिया, नवजात शिशुको मृत्युको जोखिम पनि बढाइरहेको छ। प्रदूषणकै कारण शिशु जन्मिएको २८ दिनभित्रै मर्ने सम्भावना ३० प्रतिशत बढेको तुलाधरले बताए।
उनले नेपालमा बर्सेनि ४८ हजार मानिसको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे। यसरी हेर्दा दिनमा सरदर १३० जना मानिसको वायु प्रदूषणसँग सम्बन्धित कारणले ज्यान जाने गरेको उनको भनाइ छ।
'हामीले फेर्ने हावा अस्वस्थकर हुँदा औसत आयु सवा तीन वर्ष छोट्टिइरहेको छ। तर प्रदूषण रोकथामका लागि हामीले पर्याप्त ध्यान दिइरहेका छैनौं। मौसमी कारण त हाम्रो वशमा छैन। मानवीय कारण न्यूनीकरण गर्न सक्छौं। राज्यले त्यसअनुसार जनचेतना जगाउन र अभिमूखीकरण गर्न सकेको छैन,' तुलाधरले भने।
छाती रोग विशेषज्ञ सुरजकुमार गुप्ता वायु प्रदूषणका कारण अस्पतालमा बिरामीको चाप बढ्न थालेको बताउँछन्।
आफूले उपचार गर्ने अस्पतालमा छाती, श्वासप्रश्वास, नाक, कान, घाँटीसम्बन्धी रोगका बिरामी बढेको बताउँदै उनले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन सुझाए।
'कामकाजी मानिसले चस्मा, मास्क प्रयोग गर्नुपर्छ। हात, खुट्टा, मुख बारम्बार धोइरहने, छाला ढाक्ने लगायत उपायबाट हानिकारक धुवाँ, धुलोका कणबाट बच्न सकिन्छ,' उनले भने।
छाती रोग विशेषज्ञ गुप्ताले प्रदूषण अझै केही समय व्याप्त रहने भएकाले यो अवधिमा मर्निङ र इभिनिङ (प्रातः र सन्ध्या भ्रमण) वाक नगर्न सुझाए।
संक्रमण रोग विशेषज्ञ अनुप सुवेदीले पनि यो तहको वायु प्रदूषणलाई आपतकालीन (इमरजेन्सी) मानिनुपर्ने बताएका छन्।
उनले डढेलो नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि सुझाएका छन्।
'काठमाडौं वरिपरि धुवाँ धेरै निकाल्ने कलकारखाना केही दिनलाई भए पनि कम वा बन्द गर्न सकिन्छ। पेट्रोल-डिजेलका गाडी जोर-बिजोर गर्नुपर्ने हो कि, धेरै प्रदूषण गर्ने ट्रक–ट्रिपरहरूबारे केही दिनका लागि विशेष नीति बनाउनुपर्ने हो कि?' उनले सरकारलाई प्रश्न गरे।
केही दिनमा बढेको प्रदूषणले हजारौंलाई अस्पताल जानुपर्ने अवस्थामा पुर्याएको उनको भनाइ छ।
'तीमध्ये कतिको मृत्यु हुनेछ। आउने साता र महिनाहरूमा गर्भमा भएका बच्चालाई जटिलता उत्पन्न हुनेछन्। आउने साता र महिनाहरूमा कति बच्चा-बुढालाई श्वासप्रश्वासका दीर्घरोग सुरू हुनेछन्। आउने महिना र वर्षहरूमा हजारौंलाई अनेक किसिमका क्यान्सर हुनेछन्, जुन यी दिनहरूको एक्स्पोजरले नै सिर्जना गराएको हो,' उनले संकट पहिल्याउँदै भने।
यसबारे सरकारले के गरेको छ त भनेर हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सोध्यौं।
प्राधिकरणका प्रवक्ता राजकुमार डिसीले अहिले नै संकट घोषण गर्ने बेला नभइसकेको बताए।
वातावरण विभागले वायुको गुणस्तर निगरानी गरिरहेकाले वायु शुद्धता सूचकांक (एक्युआई) ले संकटपूर्ण अवस्था नभनिसकेको उनको भनाइ छ।
'वातावरण विभागले घन्टाघन्टामा वायुको स्वच्छता निगरानी गरिराखेको छ। बिहीबार रत्नपार्कको एक्युआई ३०८ पुगेको थियो। आज त्यो अवस्था छैन। अहिले बिहान साढे १० बजे भक्तपुरको एक्युआई १९८, काठमाडौं शंखपार्कको १९५, रत्नपार्कको १८९, ललितपुर खुमलटारको १८८, भैंसेपाटीको १८५ रहेको छ। यो भनेको संवेदनशील समूहका लागि जोखिमयुक्त हो। एक्युआई लगातार ३०० भन्दा माथि रह्यो भने हामी संकट घोषणा गर्छौं,' उनले भने।
वायु गुणस्तर सूचकांले ०–५० हुँदा राम्रो, ५१– १०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भए खतरनाक तह पुगेको संकेत गर्छ।
संसारभरि वायु प्रदूषणलाई चुरोटसँग तुलना गर्ने चलन छ। प्रदूषणको मात्रा कति हुँदा कति खिल्ली चुरोट ताने बराबर हुन्छ भनेर गणना गरिन्छ।
यस आधारमा शुक्रबार काठमाडौंको एक्युआई १९८ सँग तुलना गर्दा दिनको झन्डै ७ खिल्ली चुरोट ताने बराबर हानि गर्छ। तर यो सुधार भएको अवस्था हो। बिहीबारको एक्युआई ३०८ का आधारमा हिसाब गर्ने हो भने त १२ खिल्लीभन्दा धेरै चुरोट ताने बराबर थियो।
प्रवक्ता डिसीले वायु गुणस्तर खतरनाक तहमा पुगे सवारी चाप भएका काठमाडौं उपत्यका लगायत ठाउँमा जोर-बिजोर प्रणाली लागू गर्नेबारे कुराकानी भइरहेको बताए। तर ३०१ भन्दा माथि सूचकांक नरहेकाले जनस्तरमा सावधानीका उपाय अपनाउन सूचित गरिएको उनको भनाइ छ।
यस्तो सुझाव बिहीबार वन तथा वातावरण मन्त्रालयले पनि दिएको थियो। वन मन्त्रालयले दुई दिन बिदा दिन र सवारी साधन जोर-बिजोर प्रणालीका आधारमा चलाउन सुझाएको थियो।
***