भरतपुर महानगरपालिकाको वडा नम्बर १० ले वडावासी बिरामी पर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।
आफ्नो वडाका बिरामीलाई अस्पतालसम्म पुग्न र घर फर्कनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए।
यो सेवाका लागि वडा कार्यालयले एमबुलेन्स सञ्चालन गर्दै आएका वडाभित्रका पाँचवटा संस्थासँग सम्झौता गरेको छ। वडाध्यक्ष खनाल र एम्बुलेन्स सञ्चालन गर्ने संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको हो।
एम्बुलेन्स सञ्चालन गर्दै आएका संस्थाहरु टेकप्रसाद अर्याल स्मृति प्रतिष्ठान, टोपनारायण ढकाल स्मृति समाज, देवीप्रसाद वस्ती स्मृति प्रतिष्ठान, सामुदायिक स्वास्थ्य एवम् अनुसन्धान केन्द्र र गुणराज पाठक स्मृति प्रतिष्ठानका प्रतिनिधिहरुले वडाका स्थायी तथा अस्थायी बासिन्दालाई आकस्मिक सेवाका लागि निःशुल्क सेवा दिनेगरी सम्झौता वडा कार्यालयसँग सम्झौता गरेको जानकारी दिए।
वडाध्यक्ष खनालले वडावासीलाई बिरामी पर्दा भरतपुर महानगरपालिकाभित्रका अस्पतालहरुमा पुर्याउनका लागि चौबिसै घन्टा सेवा दिनेगरी यो सम्झौता गरिएका जानकारी दिए। सम्झौता २०८४ साल चैत ३० गतेसम्म कायम रहने उनले बताए। एम्बुलेसको प्रयोग बहिरंग सेवाका बिरामीहरुले गर्न नपाउने सम्झौतामा उल्लेख गरिएको छ।
यो वडाले वडावासीका लागि चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजसँग उपचारमा ५० प्रतिशत छूट, अन्य साना अस्पतालमा २० देखि ३० प्रतिशतसम्म छूट, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि निजी शैक्षिक संस्थामा निःशुल्क शिक्षाका लागि सिफारिसलगायतका कामहरु पनि गरेको छ।