रिमझिमकली शृंगारले चिटिक्क परेकी थिई। उसको वरपर रमाइरहेको थियो सानो छावा। घुम्न आएका पर्यटकको ध्यान आमाले भन्दा बढी छोराले तानेको थियो।
भुइँमा राखिएको पूजाको सर्दामदेखि टेबलमा राखिएको प्रसादमा उसको आँखा परेको थियो। जन्मेदेखि आमाको दूध मात्रै खाइरहेको उसलाई आफ्नो घरमा राखिएको नयाँ कुराको स्वाद लिन मन थियो सायद!
एक जना माउतेलाई उसलाई सम्हाल्न धौधौ भइरहेको थियो।
सौराहानजिकै रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा रिमझिमकली नामको हात्तीले जन्माएको त्यही छावाको न्वारन हुँदै थियो।
नेपालमा हात्तीको जन्मदेखि मृत्युसम्मका सबै संस्कार हिन्दु परम्परा अनुसार गरिन्छ। छावाको न्वारन पनि मान्छेका सन्तानकै जसरी गरिन्छ। मृत्युमा पनि मान्छेकै जस्तो सेतो कपडा लगाएर, धुप बत्ती बाल्ने, शोक मान्ने गरिन्छ। यी सबै काम हात्तीसारका कर्मचारीले गर्छन्।
पण्डित रेशम पौडेलले माउते रामदयाल चौधरीलाई कर्ता बनाएर न्वारनको सबै प्रक्रिया पूरा गरे। नामाकरण मात्रै बाँकी रह्यो।
प्रतीक्षा थियो चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन गणेश पन्तको। उनको आगमनसँग पण्डितले मन्त्रोच्चारण सुरू गरे। चिफ वार्डेनले नाम दिए 'दीपगज'।
-1743752365.jpg)
-1743752366.jpg)
'अहिले निकुञ्जभित्र विक्रम बाबाको पूजा चलिरहेको छ। धूपदीप चलिरहेको छ। त्यसैले यसको नाम दीपगज राखौं है त,' पन्तले यति भनेपछि उपस्थित सबैले ताली बजाए।
छावालाई टीका र ध्वजा लगाइयो। माउलाई प्रसाद खुवाइयो। पण्डितले उपस्थित सबैलाई टीका लगाइदिएपछि न्वारन सकियो।
प्रजनन केन्द्रमा रहेको अभिलेख किताबमा दीपगजका बाबु जंगली हात्ती ध्र'बे रहेको उल्लेख छ। निकुञ्जले कामका लागि सुखिभार पोस्टमा खटाएका बेला रिमझीमकली गर्भवती भएकी थिई। गर्भवती भएको थाहा भएपछि उसलाई प्रजनन केन्द्रमा ल्याएर स्याहार गर्न थालिएको थियो।
छावालाई जन्मेको सोह्र दिन पुगेपछि आमासँग चराउन लैजाने चलन रहेको माउते रामदयाल चौधरीले बताए।
खोरसोरमा सबभन्दा पहिले जन्मिएको बहादुरगजदेखि दीपगजसम्मको न्वारन यसरी नै हुँदै आएको प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरी बताउँछन्।
छावा जन्मिएको ६ दिनमा छैठी र ११ दिनमा न्वारन गरिने उनले बताए।
'छावा जन्मिनुअघि र जन्मिएलगत्तै धेरै नै ध्यान दिनुपर्छ। पहिलो पटक बच्चा जन्माएको हात्तीले धेरै कुरा मेसो पाउँदैन। बच्चालाई खुट्टाले किच्न खोज्छ। त्यसैले जोगाउन मेहनत गर्नुपर्छ। चैत ९ गते बिहान नहुँदै रिमझिमकलीले पहिलो बच्चा जन्माई। हामीले उसलाई केही दिनदेखि कुरिरहेका थियौं,' मनपुरनले भने, 'स्वस्थ बच्चा जन्मिएपछि प्रजनन केन्द्रमा खुसियाली छायो।'
छैठी र न्वारनको दिन पनि त्यस्तै रौनक हुने उनले बताए।
२०४३ सालमा प्रजनन केन्द्र स्थापना भए पनि लामो समयसम्म कुनै हात्तीले बच्चा जन्माएका थिएनन्। तत्कालीन श्री ५ को सरकारले भारतलाई पाँच वटा एकसिंगे गैंडा उपहार दिएबापत भारतले १६ वटा हात्ती नेपाललाई दिएको थियो। प्रजनन केन्द्रमा तिनै हात्ती राखिएको थियो।
प्रजनन केन्द्र स्थापना हुँदाबाटै काम गरेका केन्द्रका पूर्वप्रमुख रामेश्वर प्रसाद चौधरीका अनुसार भारतले दिएका प्रायः हात्ती धेरै उमेर भइसकेका थिए।
'अलि कम उमेर भएकालाई कामहरूमा धेरै खटाइने गरेकाले प्रजनन शक्ति कमजोर बनिसकेको जस्तो लाग्थ्यो। भालेसँग धेरै पटक संसर्ग हुँदा पनि कुनै हात्ती गर्भवती हुन सकेको थिएन,' उनले भने, 'शाही चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको प्रजनन केन्द्रमा सिधै राजदरबारको नजर पर्थ्यो। हात्तीले किन बच्चा जन्माएन भनेर केरकार भइराख्थ्यो। मैले हात्तीलाई बाहिरी काममा नखटाउन पाए हुन्थ्यो कि मात्र भनेँ। यसबारे धेरै अनुभव पनि थिएन।'
केन्द्र आसपास बेला बेला जंगली हात्ती आउँथे। तर पालुवा हात्ती र मान्छेलाई क्षति पुर्याउने डरले माउतेहरूले अनेक गरेर भगाउँथे। नजिक पर्नै दिन्थेनन्। लामो समयपछि रामप्यारी नामको हात्ती गर्भवती भई। केन्द्रमा खुसीको माहोल बन्यो।
त्यो खबर निकुञ्जको हेडक्वार्टर, विभाग, मन्त्रालय हुँदै दरबारमा पुग्यो। २०५१ सालमा छावा जन्मिएपछि हिन्दु परम्परा अनुसार न्वारन गरेर दरबारको सिफारिस अनुसार नाम राखियो 'बहादुरगज'। पालुवा भाले हात्ती वीरेन्द्र प्रसाद र रामप्यारीले जन्माएको बहादुरगज अहिले सौराहास्थित निकुञ्जको पूर्वी सेक्टरको हात्तीसारमा छ।
अन्य हात्तीको भने अझै गर्भ बस्न सकेको थिएन। २०५३ सालतिर एक दिन एउटा जंगली हात्ती कसैलाई नटेरी केन्द्रमा पस्यो। भृकुटीकली नामको पोथीसँग संसर्ग गरेर फर्कियो। सबै हेरेको हेर्यै भए।
'त्यसपछि त्यो जंगली हात्ती पटक पटक आयो। कहिले त साङ्लाले बाँधिएको हात्तीलाई पनि भगाएर लैजान्थ्यो। केही समयपछि भृकुटीकली गर्भवती भएको थाहा भयो। केन्द्रमा फेरि खुसियाली छायो। छावा जन्मिएपछि दरबारले रामगज नाम पठायो,' रामेश्वरले सुनाए।
पहिले भगाउने गरिएको जंगली हात्तीलाई त्यसपछि खानेकुरा दिएर पल्काउन थालेको उनी बताउँछन्।
पचासको दशकमा चितवन राष्ट्रिय निकुञ्जमा रोमियो हात्तीको जगजगी थियो। खोरसोरका लागि भरपर्दो भाले भएर उदायो ऊ। यहाँ रहेका पोथी हात्तीलाई बन्धनबाट फुत्काएर रासलिला गर्न पनि पछि पर्दैनथ्यो रोमियो। साङ्लो र विद्युतीय तारबार भत्काएर पोथी हात्ती उसलाई खोज्दै भाग्थे। केही दिनमा फर्किएर आउँथे। त्यसैले त्यो जंगली भाले हात्तीको नाम नै रोमियो राखिएको रामेश्वरले बताए।
केही वर्षपछि नाना पाटेकर नामको जंगली भाले हात्ती देखापर्यो। त्यतिखेर बलिउडमा अभिनेता नाना पाटेकर रूचाइएका थिए। उनैको नामबाट यो हात्तीको नाम राखियो। रोमियो र नाना पाटेकरले अरू भाले हात्तीलाई देखिसहँदैन थिए। झन् पालुवा हात्तीलाई त लखेटिहाल्थे। पालुवा भाले वीरेन्द्रप्रसाद असाध्यै छुच्चो हात्तीमा गनिन्थ्यो। तर रोमियो र नाना पाटेकरका अघि ऊ पनि कुलेलाम ठोक्थ्यो।
-1743752365.jpg)
-1743752365.jpg)
रोमियो र नानापाटेकर पनि एकअर्काका दुश्मन थिए। एक दिन खोरसोरमा उनीहरूको जम्का भेट भयो। नाना पाटेकरसँग लड्दा करेन्ट छोडिएको तारमा परेर रोमियो मर्यो।
रोमियो र नाना पाटेकरपछि २०७० सालतिरबाट निकुञ्जमा रोनाल्डोको राज हुन थाल्यो। त्यसपछि त वर्षमै ६–७ वटा छावा जन्मिन थाले।
'धेरै छावा जन्मिएपछि केन्द्रमा कर्मचारी कम भए। हात्तीको बन्ध्याकरण पो गराउने हो कि भन्नेसम्म कुरा चल्यो,' रामेश्वरले सुनाए।
अहिले रोनाल्डोका पनि प्रतिस्पर्धी थपिएका छन्। तर अझै पनि सबभन्दा अब्बल रोनाल्डो नै छ।
चितवनमा रोनाल्डोभन्दा बदमास र धेरै पोथी हात्तीसँग सम्बन्ध बनाउने अर्को जंगली भाले हात्ती हो ध्रुबे। २०७६ सालयता जन्मिएका धेरै छावाका बाका रूपमा उसको नाम पनि रेकर्ड भएको छ।
केही वर्षयता जंगली भाले हात्ती गोबिन्देको चहलपहल पनि बढ्दै छ। दाह्रा नभएको भाले हात्ती मकुनाले पनि केही समय चितवनमा बितायो। सौराहा आसपासका क्षेत्रका पोथी हात्तीलाई आफ्नो बनाउन रोनाल्डो र मकुनाबीच तीव्र प्रतिस्पर्धा चल्थ्यो। तर हेर्दा ठूलो र बलियो रोनाल्डोको अघि अन्यको जोर चल्थेन।
प्रायः समय प्रजनन् केन्द्र आसपासमै रहने रोनाल्डोले आफ्नो नजिक आएको मकुनालाई खेदिहाल्थ्यो। सौराहाको बजारदेखि बस्तीहरूमा पस्न थालेको मकुनालाई भित्री जंगलमा पठाउन खोज्दा कर्मचारीलाई आक्रमण गरेपछि गोली हानियो। उसको मृत्यु भयो।
ध्रुबेले भने अचेल पश्चिम चितवन र माडी क्षेत्रमा साम्राज्य बनाइरहेको छ।
यी भाले हात्तीसँगको संसर्गबाट २०५४ सालबाट हालसम्म केन्द्रमा ६६ वटा छावा जन्मिएका छन्। तीमध्ये ६ वटाको विभिन्न कारणले मृत्यु भयो। केन्द्रमा अहिले माउ बच्चा गरेर १९ वटा हात्ती छन्। ६ वटा तालिम पूरा गरेका र ४ वटा तालिम नलिएका छावा छन्। गत वर्ष मात्रै यहाँ ७ वटा छावा जन्मिएका थिए। यस वर्ष ४ वटा जन्मिए। चार वटा हात्ती केही महिनामै सुत्केरी हुने अवस्थामा रहेको प्रजनन केन्द्रका प्रमुख मनपुरनले बतए।
हात्तीले औसतमा ७ वटा बच्चा जन्माउने गरेका छन्। गणेशकलीले अहिलेसम्म ७ वटा छावा जन्माइसकी। रूपकलीले जन्माएकी गणेशकली अहिले ५५ वर्षकी भई। तीर्थमानकली, चुरीयाकली, कसरागज, कृष्णचन्द्रगज, कमलप्रसाद, अप्सराकली र विजयगज उसका सन्तान हुन्। सातौं बच्चा विजयगज यही साल जेठ २६ गते खगेन्द्रमल्ली पोस्टमा जन्मिएको हो।
त्यस्तै देवीकलीले २०६५ कात्तिक २१ गते जुम्ल्याहा छावा जन्माएकी थिई। यो विश्वमै दुर्लभ घटना हो। राम र लक्ष्मण नाम दिइएका जुम्ल्याहा छावाको तस्बिर नेपालको एक हजार रुपैयाँको नोटमा राखिएको छ।
गण्डकीकली (प्रेरणाकली र वीरेन्द्रप्रसादकी छोरी) को पेटमा रहेको छावालाई नेपालमै पहिलो पटक शल्यक्रिया गरेर जन्माइएको थियो। यस्तो घटना विश्वमै दुर्लभ हुन्छ। शल्यक्रियाबाट जन्मिएको छावाको नाम विजयगज राखियो। तर त्यो एक महिनाभन्दा बढी बाँच्न सकेन। गण्डकीकली दोस्रो पटक गर्भवती भएपछि भिडिओ एक्सरे गरेर हेरियो। छावा उल्टो बसेको देखेपछि निकुञ्जका पशु चिकित्सक विजयकुमार श्रेष्ठ, विदेशी चिकित्सक सहितको समूहले शल्यक्रिया गरेर धेरै प्रयास गरे। त्यसलाई पनि बचाउन सकेनन्।
पछि गणेशकलीले जन्माएको छावाको नाम पनि विजयगज राखियो।
-1743752365.jpg)
-1743752364.jpg)
गर्भवती हात्ती जुनसुकै ठाउँमा भए पनि सुत्केरी हुने समयमा केन्द्रमा ल्याइन्छ। तीन वर्षअघि, लामिचौरमा रहेकी गर्भवती चितवनकलीलाई केन्द्र ल्याउने तयारी हुँदाहुँदै त्यहीँ सुत्केरी भएकी थिई। त्यो छावाको नाम पेमगज राखियो। तत्कालीन वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलको नामबाट उक्त छावाको नाम राखिएको थियो।
हात्ती सुत्केरी भएपछि माउ र बच्चाको स्याहारदेखि बच्चाको तालिम सकिएपछि आवश्यकता अनुसार विभिन्न स्थानमा खटाइने केन्द्र प्रमुख मनपुरनले बताए।
छावाहरू आमाको दूध खाँदै हात्तीसार चहार्छन्। पहिले हात्तीसारबाट कसरास्थित निकुञ्जको मुख्य कार्यालयमा हात्ती जन्मिएको खबर पुग्थ्यो। त्यहाँबाट विभाग, मन्त्रालय हुँदै दरबारमा पत्र पुग्थ्यो। दरबारबाट निर्देशन भएबमोजिम छावाको नाम राखिन्थ्यो। प्रायः राजदरबारका सदस्यहरूको नामबाटै राखिन्थ्यो। अचेल वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय निकुञ्जका प्रमुख तथा उनीहरूले सिफारिस गरेका व्यक्तिहरूको नामबाट छावाको नाम राख्ने चलन छ।
छावा ठूलो भएपछि मान्छेलाई नटेर्ने सम्भावना हुन्छ। त्यसैले साढे तीन वर्ष पुगेदेखि नै तालिम दिने चलन छ।
'तालिम दिनुअघि केही प्रक्रिया पूरा गर्नुपर्छ। सुरूमा नयाँ खाँबो गाढेर परम्परागत रूपमा पूजा गर्ने चलन छ। खाँबोमा बोका, कुखुरा चढाएर खम्बेश्रीलाई बली दिइन्छ,' केन्द्र प्रमुख मनपुरनले भने।
त्यसपछि कार्यालयले तोकेका प्रशिक्षकले प्रशिक्षण दिन थाल्छन्। प्रशिक्षकले दैनिक नुहाउने, चोखो खाना खाने, चोखो कपडा लगाउने, पूजा पाठ गर्ने गर्नुपर्छ। करिब एक महिनामा छावाले तालिम पाइसक्छ। त्यसपछि ऊ परिपक्व हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ। यो अवधिमा छावालाई ठूलो हात्तीसँग हिँडाउने, काम सिकाउने गरिन्छ। निर्भिक भएपछि उसलाई काममा खटाइन्छ।
हात्तीसारमा अधिकांश कर्मचारी थारू समुदायका भएकाले हात्तीहरूलाई थारू भाषामै सिकाउने चलन छ। केन्द्रका १५५ जना कर्मचारीमध्ये १० जना मात्रै थारू बाहेकका समुदायका छन्।
उभ्याउन र बसाउनबाट सुरू भएको तालिम माउतेको हरेक निर्देशनलाई बुझ्ने बनाएर टुंगिन्छ। एक महिनाभित्रमा बैठ (बस), मैल (उठ), सुत (सुत), उपरदे (माथि देऊ), छि (छोडिदेऊ), दे (देऊ), इमरगत (बोलाएको ठाउँमा आऊ), छौ (पछाडि फर्क) जस्ता भाषा छावाले बुझ्न थाल्छ। माउतेको खुट्टाको इसारा अनुसार दायाँ, बायाँ, अगाडि, पछाडि जान पनि सिकाइन्छ।
माउतेहरूले छावालाई समय अनुसार तालिम दिन्छन्। पहिले जंगली हात्तीलाई धेरै पालुवा हात्ती लगाएर खेदेर समातिन्थ्यो। लडाइँमा प्रयोग गरिन्थ्यो। खोला, नदी तर्न, भारी सामान बोक्न, सिकारका लागि सवारीका रूपमा प्रयोग गरिन्थ्यो। त्यसैले सिकाइ पनि त्यही अनुसार हुन्थ्यो।
'अचेल मान्छेहरू हात्तीले आफूलाई ढोगे हुन्थ्यो, आशीर्वाद दिए, माला लगाइदिए हुन्थ्यो भन्ने चाहन्छन्। मान्छेको चाहना अनुसारको सिकाइ हुँदैछ,' मनपुरनले भने।
तालिम सकिएर काम सुरू गरेको एउटा हात्तीलाई तीन जना कर्मचारी (माउत, पछुवा र फनित) आवश्यक पर्छ। माउतले गोबर सोहोर्ने, घाँसपात सोहोर्ने, पछुवाले माउतसँग मिलेर घाँस काट्ने, हात्ती बस्ने स्थान सफा गर्ने, चराउने, हात्तीको सफारी गर्ने, फनितले माउत, पछुवा बिरामी हुँदा आवश्यक कामदेखि आइपर्दा पाहुनालाई घुमाउने काम गर्छन्।
यसबाहेक प्रजनन तथा तालिम केन्द्रमा कर्मचारीहरूलाई खटनपटन गर्ने दुई जना दरोगा, त्यसभन्दा उपल्लो पदका सुब्बा दुई जना र उनीहरूभन्दा माथि शाखा अधिकृत हुन्छन्।
