मूर्तिकला संकलक उलरिक भोन स्क्रोडरले दुई वर्षअघिको भेटमा मसँग भनेका थिए, 'नेपालले विदेशी संग्रहालयहरूमा रहेका आफ्ना मूर्ति र कलाकृति फर्काउन हतार गर्नुपर्दैन।'
नेपालका हिन्दु र बौद्ध धर्मका प्रस्तर मूर्तिको फोटो संकलित दुई खण्डको किताब 'नेप्लिज स्टोन स्कल्पचर्स' प्रकाशन गरेका उलरिकले तीमध्ये धेरै मूर्ति विदेशी संग्रहालय पुगिसकेको देखेका छन्। तैपनि नेपालका ती सम्पदा फिर्ता होस् भन्नेमा उनलाई कुनै चासो थिएन।
मैले कारण सोध्दा उनको जबाफ प्रस्ट थियो, 'जुन मूर्ति फिर्ता आएका छन्, तिनलाई छाउनी संग्रहालयको स्टोरेजको कुनामा यसै मिल्काइएको वा भुइँमा फ्याँकिएको अवस्थामा भेटेको थिएँ। त्यसरी उपेक्षित अवस्थामा राखेर कलाकृतिको मानमर्दन गर्नुभन्दा त बरू ती विदेशमै ठिक छन्। कम्तिमा त्यहाँ सुरक्षित छन्, विज्ञहरूको निगरानीमा छन्, विभिन्न मुलुकका नागरिकले हेर्न पाउँछन् र नेपालमा यति राम्रा कलाकृति बन्दा रहेछन् भनेर थाहा पाउँछन्।'
म यहाँ उलरिकको भनाइ यस कारण सम्झँदै छु, किनभने पुरातत्त्व विभागका अधिकारीले केही दिनअघि २०० देखि ५०० वर्ष पुराना कलाकृतिसँग जसरी खेलबाड गरे, त्यसले ती कलाकृति विदेशी संग्रहालयमै सुरक्षित रहेछन् कि भन्ने धेरैलाई पर्यो।
घटना आइतबारको हो। नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका २१ वटा सम्पदा फिर्ता ल्याइएको थियो। तीमध्ये एउटा मूर्ति पाटन संग्रहालय र बाँकी २० वटा राष्ट्रिय संग्रहालय छाउनीमा पठाउने जानकारी दिन पुरातत्त्व विभागले पत्रकार सम्मेलन गरेको थियो।
फिर्ता ल्याइएका तीनवटा पौभाः चित्र १५औंदेखि १८औं शताब्दीका हुन्। ती पौभाः काठमाडौंस्थित इतुम्बहालबाट २०३७ सालमा चोरी भएका थिए। गुँला पर्व बेला सार्वजनिक प्रदर्शन गरिने ती पौभा: बाँकी समय पट्याएर बहालमा राखिन्थ्यो।
त्यस्तै, नवौं शताब्दीको बुद्ध मूर्ति बुंगमतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो। पाटनको गुइत चैत्यबाट हराएको त्यो मूर्ति अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युटबाट फिर्ता ल्याइएको हो। अन्य १६ कलाकृति पनि अमेरिकाका विभिन्न ठाउँबाट ल्याइएका हुन्।
फिर्ता ल्याइएका मूर्ति र कलाकृति हस्तान्तरण क्रममा पुरातत्त्व विभागले जसरी तिनलाई सार्वजनिक प्रदर्शनीमा राखेको थियो, त्यसले सामाजिक सञ्जालमा तरंग सिर्जना गरेको छ।
सम्मेलनमा सरकारी अधिकारी र पत्रकारहरू गोलो टेबलमा घेरा लगाएर बसेका थिए। मूर्ति र पौभाः चित्रहरू त्यही टेबलमा राखिएका थिए। कोही पौभाः चित्रलाई कुइनोले अढेस लगाएर बसेका थिए भने कोही मूर्ति र कलाकृतिको वास्तै नगरी पानी पिइरहेका थिए।
इतिहासविद् गौतमवज्र बज्राचार्यले पुरातत्त्व विभागको त्यो हेलचेक्र्याइँलाई दुःस्वप्नका रूपमा टिप्पणी गरेका छन्।
रूबिन म्युजियम अफ हिमालयन आर्ट, लस एन्जेल्स काउन्टी म्युजियम अफ आर्ट लगायत संग्रहालयहरूमा ५० वर्षभन्दा बढी समय काम गरेका बज्राचार्यले उक्त पत्रकार सम्मेनलका तस्बिरसहित फेसबुकमा लेखेका छन्, 'अन्तर्राष्ट्रिय संग्रहालयहरूमा ५०औं वर्ष काम गर्दा नेपाली कलाकृतिलाई यति खराब तरिकाले व्यवहार गरेको मैले देखेको थिइनँ।'
अन्तर्राष्ट्रिय संग्रहालयहरूमा यस्ता ऐतिहासिक तथा पुरातात्त्विक कलाकृतिलाई म्याग्निफाइङ ग्लास र पन्जा लगाएर निकै संवेदनशील तरिकाले हेरिने गरेको उनले उल्लेख गरेका छन्। यसलाई दर्शाउने तस्बिरहरू पनि उनले राखेका छन्।
ऐतिहासिक कलाकृति छुन पन्जा प्रयोग गरिँदै। तस्बिर स्रोत: गौतमवज्र बज्राचार्यको फेसुबकपुरातत्त्व विभागकी निर्देशक सौभाग्य प्रधानांगले यो घटनामा आफूहरूको ध्यानाकर्षण भएको बताएकी छन्।
'अमेरिकाबाट ल्याइएका कलाकृति सार्वजनिक प्रदर्शनी गर्न टेबलमा फैलाएर राखिएको थियो। हामीले ती पौभाः र कलाकृति नबिग्रिऊन भनेर निकै सजगता अपनाएका थियौं र बिस्तारै खोलेका थियौं,' उनले भनिन्, 'हामीसँग पौभाःलाई अस्थायी रूपमा झुन्ड्याउने ठाउँ थिएन। त्यसैले टेबलमै राखेका हौं। त्यसलाई बिगार्ने, भत्काउने हाम्रो मनसाय होइन।'
सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले आफूहरूलाई अझ बढी सजग बनाएको उनको भनाइ छ।
'जुन ठाउँमा पत्रकार सम्मेलन गरेका थियौं, त्यो खासमा कलाकृति प्रदर्शन गर्ने ठाउँ नै होइन। हामी त त्यहाँ पत्रकार सम्मेलन र अरू छलफल कार्यक्रम गर्छौं। यो घटनाले अर्कोपटक यसरी सम्पदा सार्वजनिक गर्दा कसरी गर्न सकिएला भन्नेमा संवेदनशील बनाएको छ,' सौभाग्यले भनिन्।
अमेरिकाबाट पछिल्लोपटक फर्काइएका २१ सम्पदासँगै विभागले अहिलेसम्म बेलायत, अस्ट्रेलिया, चीन, भारत, जर्मनी र इटालीबाट १९८ वटा मूर्ति र कलाकृति फिर्ता ल्याइसकेको छ। थप ४०९ वटा सम्पदा हराएको भनेर खोजीका लागि विभागमा उजुरी आएको उनले जानकारी दिइन्।
अमेरिकाबाट ती कलाकृति ल्याउन विभागसँगै अमेरिकास्थित नेवाः गुठी र नेपालका मूर्तिहरू फिर्ता ल्याउन पहल गरिरहेको 'नेपाल हेरिटेज रिकभरी क्याम्पियन' को उत्तिकै हात छ। व्यक्तिगत र संग्रहालयहरूको संकलनमा रहेका कलाकृति फिर्ता ल्याउन उनीहरूले सन् २०२१ देखि अमेरिकास्थित संग्रहालय र व्यक्तिगत संकलकहरूसँग पटक पटक छलफल र पत्राचार गरेका थिए।
सम्पदा अधिवक्ता तथा नेपाल हेरिटेज रिकभरी क्याम्पियनका सचिव सञ्जय अधिकारी आइतबारको घटना हेरेर नेपालका सम्पदा फिर्ता ल्याउन हुन्न भन्ने तर्क गर्नु गलत भएको बताउँछन्।
'हामी विभाग पुग्दा ती सम्पदा प्रदर्शनमा राखिसकिएको थियो। हामीले वर्षौं लगाएर फिर्ता ल्याएका सम्पदा त्यसरी राख्नु गलत हो। तर त्यसो भन्दैमा ती सम्पदा विदेशमै ठिक थिए भन्ने भाष्य निर्माण हुनु पनि गलत हो,' उनले भने, 'जो विज्ञहरूले अहिले यो विषय उठाइरहनुभएको छ, उहाँहरूले त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर आफूले जानेका कुरा सिकाए झनै राम्रो हुनेछ।'
सञ्जय पश्चिमा समाज र नेपाली समाजमा सम्पदाको आफ्नै मूल्य-मान्यता भएको बताउँछन्। यी कुनै संग्रहालयमा राख्ने कलाकृति नभई जीवित सम्पदा भएको उनको धारणा छ। त्यसैले संग्रहालयमा जस्तो यसलाई छुनै हुन्न भन्ने पक्षमा उनी छैनन्।
'नेपाली र विदेशीले सम्पदालाई हेर्ने तौरतरिका फरक छ। हाम्रा लागि सम्पदा भनेको कलाकृति मात्र होइन, भगवान हो। समाज, संस्कृति र समुदाय जोड्ने आधार हो। त्यसलाई हामी छुन्छौं र पूजाआजा गर्छौं। तर संरक्षणको हिसाबमा हेर्ने हो भने यो गलत हो,' अधिकारीले भने, 'हाम्रा लागि सम्पदा संग्रहालयमा राख्न बनाइएकै होइनन्। तर जहिलेसम्म ती समुदायमा पुग्दैनन् र संग्रहालयमै रहन्छन्, तिनको कसरी संरक्षण र सुरक्षा गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ।'
उनले अगाडि भने, 'पुरातत्व विभागमा जे भयो, त्यो गलत हो भन्नेमा दुईमत छैन। यसले जुन विवाद/विमर्श सिर्जना गरेको छ, त्यो हामीजस्तो सम्पदालाई चिन्दै, बुझ्दै काम गरिरहेकाहरूलाई राम्रो सिकाइ हो।'
पुरातत्त्व विभागकी निर्देशक प्रधानांगका अनुसार अमेरिकाबाट फिर्ता ल्याइएका २१ मध्ये गुइतको बुद्ध मूर्ति पाटन संग्रहालय लगिएको छ। बाँकी २० कलाकृति छाउनी संग्रहालय लग्ने तयारी हुँदैछ।
'ती सम्पदाको सूचीकरण गरेपछि हामी यो साताभित्रै छाउनी संग्रहालय पठाउनेछौं,' उनले भनिन्, 'हाम्रो उद्देश्य भनेको तिनीहरू जहाँबाट हराएका हुन्, त्यहीँ लगेर राख्नु हो। समुदायले अपनत्व नजनाएसम्म संग्रहालयमै रहनेछ।'
संग्रहालयमा रहँदा पनि कसरी सुरक्षित राख्न सकिएला भन्नेमा चिन्तित रहेको उनले बताइन्।
'हाम्रा हराएका सम्पदालाई बाहिरबाट फिर्ता ल्याउनु जति गाह्रो काम हो, त्यसलाई कसरी सुरक्षित राख्ने भन्ने अर्को चिन्ताको विषय हो,' उनले भनिन्।
***
गौतमवज्र बज्राचार्य