शुक्रबार, चार बजे आसपास।
कोटेश्वर–बालकुमारी सडक लुटपाट र आगजनीको केन्द्र बन्छ।
तीनकुने विध्वंशपछि तितरवितर भएका प्रदर्शनकारी सोझै कोटेश्वर–बालकुमारी सडकको बायाँतर्फ रहेको भाटभटेनी प्रवेश गर्छन्।
'ओली र प्रचण्डको मल यही होइन त, भाटभटेनी!' भन्दै तोडफोड र लुटपाट गर्न थाल्छन्।
भाटभटेनी सुपर स्टोरभित्र छिरेर लामो हात गर्नेमा प्रदर्शनकारी अनुहार मात्रै देखिँदैनन्, बालबालिका, किशोर वयका केटाकेटी र वृद्धवृद्धा उनीहरूकै लहैलहैमा भित्र पस्छन्।
हातमा अटेका, हातमा नअटेका, काखी च्यापेरसम्म चोरीमा संलग्नहरू बाहिर निस्किन्छन्।
धन्न! त्यहाँका सुरक्षा गार्ड दुलप्रसाद पराजुली (कृष्ण) बहादुर निस्किन्छन्। उनले थप क्षति हुन दिँदैनन्। होडे परेको सटरभित्रबाट बिक्रीका लागि राखिएका मदिरा–मालसामान च्याप्दै निस्किइरहेका प्रदर्शनकारीका पिँठ्यु, पिठ्युँमा भाटा बजार्दै तितरवितर तुल्याउँछन्।
त्यहाँबाट छिरलिएका प्रदर्शनकारी हिँड्दै, गाडी जलाउँदै अघि बढ्छन्।
निमेषभरमै बालकुमारीतर्फबाट धुवाँको मुस्लो उठ्छ।
विध्वंशको चस्मदीद कोटेश्वरबासी अन्यमनस्क स्थितिमा पुग्छन्। आँखामा भ्रान्ति छाइरहेको हो कि उद्दण्डताको साक्षी बसिरहेको छु, कतिपयलाई ठम्याउनसमेत मुस्किल हुन्छ।
प्रदर्शनकारीको हुल घरघर पस्न सक्ने र लुटपाट र आगजनी मच्चिन सक्ने भय बोकेका स्थानीय ढोका ढप्क्याएर घरभित्र पस्न थाल्छन्।
यही विध्वंशको ज्वारभाटाबीच भाटभटेनी सुपरमार्केटको पश्चिमतर्फ तिखो आवाज कानै छेडुँलाजसरी ठोक्किन आइपुग्छ।
ड्याङ्...! ड्याङ्...!
थप अकल्पनीय दृश्य हेर्नु नपरोस् भनेर कतिपयले आँखा चिम्म पार्छन्।
दुई पटक गोली पड्किएको आवाज कानमा के परेको थियो, पलभरमै त्यहाँ आर्तनाद छाइहाल्छ।
ऐया आमा.. मरेँ...मरेँ..!
युवक–युवतीको आर्त मिसिएको चीत्कार, कोलाहल छाउँछ।
'ओई एम्बुलेन्स बोलाऊ...कपडाले रगत थाम...पानी लेऊ न पानी...! गल्लीबाट क्रमशः चिच्च्याहट उठ्दै जान्छ।
गल्लीमा एकाएक रूवाबासी छाउँछ।
अघिसम्म आँखामा आएको विध्वंशको दृश्य अब रक्तमुच्छेल शरीरमा गएर ठोक्किन थाल्छ। कतिपयले यो दृश्य हेर्न सक्दैनन्। वीभत्स दृश्यबाट आँखा हटाउन थाल्छन्।
बीच सडकमा युवती लडिरहेकी छिन्। गोलीले दायाँ तिघ्रा क्षतविक्षत बनाएको छ। देब्रे खुटामा गोली लागेका अर्का युवकको अवस्था उस्तै छ।
आफ्नो पीडाभन्दा पनि बहिनीको अवस्थाले उनी आलसतालस बनेका छन्। सकिनसकी याचना गरिरहेका छन्। ज्यान बचाइदिन बिन्तीभाउ गरिरहेका छन्।
युवतीको अवस्था त झन् डरलाग्दो थियो।
गोली छेडिएर भ्वाङ परेको तिघ्राबाट भल बगेको रगत कसरी थाम्ने? केले रोक्ने? कति मानिसहरू हात राख्न पनि डराउँछन्। हात राख्न खोज्ने मानिसहरू पनि निरूपाय छन्।
मानवता अद्यापि जिउँदै छ; कसैले रूमाल दिन्छन्। कतिले बरन्डाबाट टिसर्ट, सर्ट हुर्याउँछन्। जेनतेन टालाहरू अड्याएर शिथिल युवतीलाई केही परको मेडिकल पुर्याइन्छ। त्यहाँ उपचार सम्भव हुँदैन।
मूलसडकमा प्रदर्शन घेरा लागेकाले एम्बुलेन्स आउन पनि विलम्ब गर्छ। त्यतिञ्जेल युवतीको अवस्था अरू बिग्रिसकेको हुन्छ। अचेत भइसकेकी हुन्छिन् उनी।
झन्डै एक घन्टापछि गोली लागेका दुवै जनाको उद्धार हुन्छ। उनीहरूलाई मीनभवनको नागरिक (सिभिल) अस्पताल पुर्याइन्छ। अराजक राजावादीहरूले प्रदर्शन गरिरहेका थिए। प्रहरीको मोहोरीबाट छुटेको गोली राजावादीहरूको उग्रता छल्दै गल्लीको बाटो हिँडिरहेका निरपराध दाजुबहिनीलाई लाग्यो।
यसरी गोली लाग्ने उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ की रेबिका खत्री र उनका माइला बुबाका छोरा दिनेश हुन्।
कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्ष पढिरहेकी रेबिकाको आन्दोलनसँग न साइनो थियो, न राजनीतिप्रति नै उनको दिलचस्पी नै। दिनेश पनि राजनीतिबाट कोशौं टाढा थिए।
शुक्रबार दिनभरि नरेफाँटस्थित ग्रोसरीमा काम गरेर हिंसात्मक प्रदर्शन र मुठभेड छल्न भित्री बाटो हुँदै कोटेश्वर–बालकुमारीको मूल सडक आइपुगेकी थिइन् रेबिका। रणमैदान बनेको मूल सडकको अवस्था झन् भयप्रद थियो। बालकुमारीतर्फबाट उडेको धुवाँको मुस्लोले मूलसडक हुँदै बसोबासस्थल ग्वार्को जान डराइन्।
त्यसपछि नजिकै रहेका माइला बुबाका छोरा दिनेशलाई फोन गरिन्।
दिदी अनिताका अनुसार दिनेशले रेबिकालाई कोटेश्वरको आकाशे पुल चढेर वारि आउन भनेका थिए। त्यहीअनुसार उनी आकाशे पुल चढेर वारि आइन्। पुलवारि दाजु दिनेश भेटिए। दाजुबहिनी हात समात्दै एसओएसकै भित्री गल्ली हुँदै पश्चिमतर्फ अघि बढेका थिए।
उनीहरू केही अघि मात्रै बढेका थिए। प्रहरीले गोली चलाउन थाल्यो।
एउटा गोलीले दिनेशको देब्रे गोडा छेडिहाल्यो। उनी रन्थनिइसकेका थिए। बहिनी रेबिका बीच सडकमै ढलिहालिन्।
'दुई राउन्ड गोली चलेको स्थानीय बताउँछन्। एउटै गोलीले दाजुबहिनीलाई छेडेको हो कि, फरक फरक गोली हो, हामीलाई थाहा हुने कुर भएन। एउटा गोली नजिकैको सटरमा समेत लागेको देखिएको छ,' रेबिकाकी दिदी अनिताले भनिन्, 'म पुग्दा बग्नु रगत बगिसकेर घाउमा ब्यान्डेज बाँधिएको थियो। बहिनी बोल्न सक्ने अवस्थामा थिइनन्।'
गोली लागेर घाइते भएका दिनेश मंगलबार डिस्चार्ज भएका छन्। उनको धेरै क्षति नभएकाले अस्पताल बसाइ लामो भएन। तथापि उनी नियमित फलोअपमा बस्नुपर्नेछ। चिकित्सकले शुक्रबार आउन भनेका छन्।
'गोली वारपार भएकाले निकै दुख्यो। अहिले ठीकै छ। घाउ सुख्खा छ, संक्रमण भयो भने शल्यक्रिया गर्नुपर्छ, भएन भने यत्तिकै पुरिन्छ भन्नुभएको छ,' दिनेशले भने।
व्यवस्थापनमा स्नातक पूरा गरेका उनी वैशाखको अन्त्य या जेठको पहिलो साता थप अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा थिए। कलेज शुल्क बुझाएर स्वास्थ्य जाँच समेत पूरा गरिसकेका दिनेश अस्ट्रेलिया जान रोकिनुपर्ने पो कि भनेर अहिले गहिरो चिन्तामा छन्।
रेबिकाको अवस्था स्थिर छ। चिकित्सकहरूले खतरामुक्त रहेको बताएका छन्। शल्यक्रिया नभइसकेकाले स्वास्थ्य कुन रूपमा अघि बढ्छ भनेर परिवारले ठम्याउन सकेको छैन।
जेठमा परीक्षा दिनुपर्ने छात्रा सिभिल अस्पतालको सघन उपचार कक्षमा छिन्। उद्धारमा सकस र ढिलाइ दुवै भएकाले रक्तस्राव धेरै भयो। ओइलाएको कर्कलोसरह क्षीण छ उनको शरीर। भेन्टिलेटरबाट आइसियूमा सारिए पनि रेबिका बोल्न र चटपटाउन सक्दिनन्।गोलीले रेबिकाको दायाँ तिघ्राको मूल नशामै क्षति पुर्याएको छ। बायाँ तिघ्राको नशा झिकेर ल्याएर त्यहाँ हालिएको छ। र, रक्तसञ्चार नियमित तुल्याउन खोजिएको छ।
'आज बिहान थोरै कालो चिया खाइन्। अवस्था स्थिर नै छ। बोल्न सकेकी छैनन्,' दिदी अनिताले भनिन्।
उदयपुर, चौदण्डीगढी स्थायी घर भएको रेबिकाको परिवारको आम्दानी गतिलो छैन। बुबा तुलसीरामराम खनाल शारीरिक रूपमा क्षीण नै छन्। दुई वर्षअघि लामै समय अस्पतालमा बस्नुपरेकाले उनी त्यसबाट अझै तंग्रिन सकेका छैनन्। तुलसीरामका तीन छोराछोरी हुन्।
२७ महिनाको फरकमा जन्मिएका तीन छोराछोरीमध्ये जेठा अहिले जापानमा छन्। केही समयअघि जापान गएकाले त्यहाँ जाँदा लागेको ऋण चुक्ता भइसकेको छैन।
दुई छोरी (अनिता र रेबिका) काठमाडौंमै बसेर परिवारलाई भरथेग गरिरहेका थिए। अनिताले स्नातक पढ्दापढ्दै बीचमै पढाइ छाडेर परिवारको गुजारा चलाउन काम गर्न थालिन्। कान्छी रेबिका पनि कलेजको शुल्क र खाजा खर्च पुग्छ भनेर ग्रोसरीमा लेखापाल थालेकी थिइन्।
दुवै छोरी काममा लागे, आफ्नो बाटो आफै कोर्छन् भनेर ढुक्कै थिए तुलसीराम।
अचानक प्रहरीको गोली लागेर कान्छी छोरी अस्पतालको शय्यामा पुगेपछि तुलसीरामका नौनाडी फतक्कै गलेका छन्।
'छोरीको बल्तल्ल होस आएको छ। प्रदर्शनमै सामेल नभएको छोरीलाई कसरी, किन गोली हानियो सोच्न, भन्न पनि सकेको छैन। हिजो दिनभरि अस्पतालमा बसेर छोरी हेरेँ,' तुलसीरामले भने, 'छोरीको अनुहार मात्रै हेरेको छु। घाउ हेर्न अझै सकेको छैन।'
रेबिका र दिनेशलाई खुट्टामा गोली लागेको खबर अनिताले उनलाई शुक्रबार साँझ ५ बजेतिर सुनाएकी थिइन्। छोरीलाई गोली लागेको सुनेपछि उनको होसहवासै उड्यो। त्यति बेलै काठमाडौं हानिन खोजेका थिए। तर सवारी साधन आफूसँग नभएकाले उनी रोकिनुपर्यो।
त्यो रात आफूलाई जीवनकै लामो रात लागेको तुलसीरामले सुनाए।
उनी भोलिपल्ट बिहानै गाडी चढेर काठमाडौं हानिए। शनिबार दिउँसो २ः२५ बजे काठमाडौं आइपुगेका थिए। काठमाडौं उत्रिएपछि सिधै सिभिल अस्पताल पुगेर दुवै जनाको अवस्था हेरे। छोरीको हालत देखेर मन थाम्नै सकेनन्।
माइलो दाजुका कान्छा छोरा अस्पताल खतरामुक्त भएर अस्पतालबाट डिस्चार्ज भए। छोरी कहिले बौरिएर बुबा...! भन्न सक्ने हो भन्ने पिरलो छँदैछ।
'इशारा मात्रै गर्छिन्। बोल्न खोजेझैं लाग्छ। ओठमात्रै चलाएको देख्छु। झन् हेर्न सक्दिनँ,' उनले भने।
तुलसीरामरामसामाजिक रूपमा क्रियाशील छन्। २०५४ सालदेखि उनी गाउँकै थानपोखरी सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध थिए। वन उपभोक्ता समितिको सहसचिव, अध्यक्ष हुँदै झन्डै २६ वर्ष बिताएका तुलसीरामरामचौदण्डीगढीको निर्वाचित जनप्रतिनिधि पनि हुन्।
उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा चौदण्डीगढी–६ बाट वडा सदस्य निर्वाचित भएका थिए।
त्यसो त उनी २०७४ सालमै वडा सदस्यको उम्मेदवार बनेका थिए। त्यति बेला उनी ४ मतले पछि परेका थिए। पछिल्लो निर्वाचनमा २६० मतान्तरले विजयी भएका थिए। तुलसीरामका अनुसार उनी सुरूमा नेपाली कांग्रेस थिए। १२ वर्षअघि घर–परिवारकै सल्लाहअनुसार उनी एमाले प्रवेश गरेका थिए। एमालेको नगर कमिटी सदस्य हुँदै उनी जिल्लाको अखिल नेपाल किसान महासंघमा सक्रिय बनेका थिए। उनी त्यो कमिटीको उपसचिवसम्म भए।
छोराछोरी भने राजनीतिबाट टाढा रहेको तुलसीरामले सुनाए।
'सामाजिक काममा तदारूकता देखाए पनि म किसान नै हुँ। गाउँमा सानो डेरी चलाएको छु। दैनिक ५०–६० लिटर दूध संकलन गरेर घरघर पुर्याएर बेच्छु,' उनले भने, 'बनिबुतो गरेर छोराछोरी पढाइरहेको थिएँ। यस्तो आपत पो आइलाग्यो।'
घाइते रेबिकाको उपचार सरकारले नै गरिदिन्छु भनेको छ। मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतम, गणेश पराजुली, डा. चन्दा कार्की लगायत आएर सान्त्वना दिएका थिए। रेबिकाको न्यायका निम्ती उनका सहपाठी तथा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए।
छोरीले अपांगता बेहोर्नुपर्छ कि भनेर ठूलो चिन्तामा छन् तुलसीराम। सेतोपाटीसँगको कुराकानीमा उनले छोरीको उपचार खर्चका सार्थ जीवन निर्वाहको जिम्मेवारी वहन गर्न पनि सरकारलाई आग्रह गरे।
'मेरो छोरी बाटो हिँडिरहेका बेला गोली लागेको हो। आन्दोलन–सान्दोलनमा उसलाई चासो छैन। जे नहुनु थियो, त्यो भइसक्यो। छोरीको पहिलेकै अवस्था फर्किने होइन। उसले अपांगता बेहोर्नुपर्ने हुन सक्छ। अस्पतालमा बस्नुपरेकोले काम गुम्न सक्छ। पढाइमा असर पर्न सक्छ। त्यसैले उसको जीवन निर्वाहको जिम्मेवारी राज्यको हो। यसमा विचार गरिदेओस्,' उनले भने।